काठमाडौं – नेपाली ओडीआई क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी ओडीआई अलराउन्डर वरियतामा ३ स्थान माथि उक्लिएका छन् ।
आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र ३ स्थान सुधार गर्दै २८औं स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक बढेर १५३ भएको छ ।
घरेलु मैदानमा भएको लिग २ शृंखलामा गरेको प्रदर्शनबाट उनको वरियता सुधार भएको हो । यसअघि ओमान र यूएईसँग भएको शृंखलाका ४ खेलमा उनले २ अर्धशतक र १ शतक प्रहार गर्दै महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले ४ विकेट पनि लिए ।
दीपेन्द्रले यूएईसँगको पहिलो खेलमा ७५ रन बनाएका थिए भने १ विकेट पनि लिए । ओमानसँगको खेलमा ६० रन बनाउँदै २ विकेट पनि लिए ।
यूएईसँगको दोस्रो खेलमा शतक बनाए । त्यस्तै ओमानसँगको दोस्रो खेलमा ३३ रन बनाएर १ विकेट पनि लिए । पछिल्लोपटक अध्यावधि हुँदा भने यूएईसँग भएको खेलसम्मको मात्र हिसाब गरिएको छ ।
त्यसपछि ओमानसँग भएको अन्तिम खेलको प्रदर्शन पनि जोडिएको हो । हिजो मंगलबार भएको स्कटल्यान्डसँगको खेलमा गरेको प्रदर्शन भने अर्को साता हुने अपडेटमा समावेश हुनेछ ।
टी-२०आई अलराउन्डरको वरियतामा भने दीपेन्द्र चौथो स्थानमै यथावत् छन् ।
अलराउन्डरकै वरियतामा करण केसी ३ स्थान तल झरेर ८४औं स्थानमा पुगेका छन् ।