काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी खेलमा ओमानले नेपाललाई ३०६ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको योगफल तयार पारेको हो।
ओमानका कप्तान जतिन्दर सिंहले उत्कृष्ट शतकीय प्रदर्शन गरे। उनले ९६ बलमा १५ चौका र ५ छक्कासहित १३० रनको योगदान दिए। त्यस्तै, जितेन रमानन्दीले ४३ रन, आर्यान बिश्टले ३५ रन, हम्माद मिर्जाले ३० रन तथा विनायक शुक्ला र आशिष ओडेदाराले समान २३-२३ रन बनाए।
नेपालका तर्फबाट बलिङमा सोमपाल कामीले सर्वाधिक ४ विकेट हात पारे। त्यस्तै सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले २-२ विकेट लिँदै ओमानको स्कोरलाई ३०० पारसम्म रोक्ने प्रयास गरेका थिए।