काठमाडौँ । विवादित स्ट्याटसलाई लिएर क्रिकेटर करण केसी कारवाहीमा परेका छन् । उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले एक म्याच प्रतिबन्ध तथा म्याच फी काट्ने निर्णय लिएको छ ।
प्रतिबन्धका कारण केसीले आजको म्याच खेल्न पाएनन् । आज नेपाल पुलिस र मधेसबीचको म्याचमा उनी छुटेका हुन् । करणले पुलिस टीमबाट खेल्दै आएका छन् । आजको म्याचको म्याच फी पनि काटिएको छ ।
करणको अभिव्यक्ति खेल भावना अनुरूप नभएको क्यानको ठहर छ । प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा उनलाई प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको एक खेलमा प्रतिबन्ध लगाइएको साथै १०० प्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय भएको उल्लेख छ ।
करणले हिजो फेसबुकमा अम्पायरहरूप्रति धम्कीयुक्त स्ट्याटस लेखेका थिए । कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिटेमा कति म्याच प्रतिबन्ध हुन्छ ? भन्ने उनको प्रश्न थियो । करणको उक्त स्टाटसलगत्तै क्रिकेट अम्पायर तथा स्कोरर संघले आकस्मिक बैठक बसेर विज्ञप्ति नै जारी गरी आपत्ति जनाएको थियो । करणले हिजै उक्त स्ट्याटस हटाएर क्षमा याचना गरिसकेका छन् ।
क्यानका प्रवक्ता छुम्बी लामाले पछिल्लो चरणमा खेलाडीहरू र अम्पायरबीच देखिएको असमझदारीलाई क्रिकेट संघले नजिकबाट नियालिरहेको बताए । करणको स्ट्याटसमाथि पनि क्यानको ध्यानाकर्षण भएको उनको भनाइ छ ।
