काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालय र नेपाल र उद्योग परिसंघबीच राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित विश्वसनीय तथ्यांक, संकलन, विश्लेषण, अनुसन्धान तथा नीतिनिर्माणमा सहयोग पुर्याउने उद्देश्यले एक समझदारी भएको छ । मुलुकको आर्थिक विकास, औद्योगिक विस्तार तथा प्रभावकारी नीतिनिर्माणका लागि गुणस्तरीय र समयानुकूल तथ्यांक जरुरी आवश्यक रहेकाले उक्त समझदारी गरिएको हो ।
तथ्यांक प्रणाली विकासका लागि राष्ट्रिय रणनीति, निजी क्षेत्रसँग सम्बन्धित आर्थिक गतिविधिका तथ्यांक संकलन, विश्लेषण तथा उपयोगलाई सुदृढ गरी ततथ्यांकमा गुणस्तर अभिवृद्धि गर्न सरकारी निकाय र निजी क्षेत्र संघसंस्थासँग सहकार्य समन्वय गर्ने रणनीतिअनुरुप यो समझदारी भएको उल्लेख गरिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयमा एक कार्यक्रममा कार्यालय प्रमुख डा कमलप्रसाद पोख्रेल र परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेको उपस्थितिमा कार्यालयका निर्देशक डा वेदप्रसाद ढकाल र परिसंघका महानिर्देशक डा. घनश्याम ओझाले हस्ताक्षर गरेका हुन् । सो अवसरमा परिसंघका अध्यक्ष पाण्डेले यो सहकार्यले निजी क्षेत्रसँग सम्बन्धित आर्थिक तथ्यांक संकलन, विश्लेषण तथा उपयोगलाई सुदृढ बनाउन सहयोग गर्ने बताए ।
तथ्यांक कार्यालय प्रमुख डा. पोख्रेलले सरकारी तथा निजी क्षेत्रबीच तथ्यांक प्रणाली विकासमा सहकार्य, राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित तथ्यांकको गुणस्तर सुधार तथा प्रयोग विस्तारमा सहयोगी हुने बताए। समझदारीअनुसार परिसंघ र कार्यालयबीच राष्ट्रिय आर्थिक गणना, निजी क्षेत्र तथ्यांक प्रणाली विकास, अनुसन्धान तथा नीति अध्ययन, तथ्यांक आदानप्रदान, क्षमता विकास, प्रचारप्रसार तथा जनचेतनामा सहकार्य हुनेछ ।