काठमाडौं । माल्दिभ्समा जारी साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। मालेस्थित नेशनल फुटबल स्टेडियममा हुने खेल नेपाली समयअनुसार साँझ साढे चार बजे सुरु हुनेछ।
समूह ‘ए’ को विजेता बन्दै नेपाल सेमिफाइनल पुगेको हो भने बंगलादेश समूह ‘बी’ को उपविजेता बनेको हो। दुवै टोली समूह चरणभर अपराजित रहँदै अन्तिम चारमा प्रवेश गरेका हुन्।
समूह चरणमा नेपालले भुटानलाई २–१ र श्रीलंकालाई १–० ले हराएको थियो भने आयोजक माल्दिभ्ससँग १–१ को बराबरी खेलेको थियो। यता बंगलादेशले पाकिस्तानलाई ३–० ले हराउँदा भारतसँग १–१ को बराबरी खेलेको थियो।
नेपाल र बंगलादेश लगातार दोस्रो पटक सेमिफाइनलमा आमनेसामने हुन लागेका हुन्। सन् २०२५ मा भारतमा भएको संस्करणको सेमिफाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको थियो।
यस उमेर समूहमा नेपालले दुई पटक उपाधि जितेको छ भने बंगलादेशले एक पटक ट्रफी उचालेको छ। तर पछिल्ला वर्षहरूमा बंगलादेश नेपालका लागि बलियो चुनौतीका रूपमा देखिँदै आएको छ।
सन् २०२४ मा नेपालमै भएको प्रतियोगिताको फाइनलमा बंगलादेशले नेपाललाई पराजित गर्दै उपाधि जितेको थियो। त्यसअघि समूह चरणमा नेपालले बंगलादेशलाई हराए पनि फाइनलमा त्यो नतिजा दोहोर्याउन सकेको थिएन।
प्रतियोगिताअघि नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले पनि भारतसँगै बंगलादेशलाई कठिन प्रतिद्वन्दीका रूपमा उल्लेख गरेका थिए। उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको नेपालका लागि यी दुई टोली मुख्य चुनौती मानिएका छन्।
आजै हुने अर्को सेमिफाइनलमा भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ। नेपालले उपाधि जित्न चाहेमा सम्भावित रूपमा यी दुवै टोलीलाई पार गर्नुपर्नेछ।
यस उमेर समूहमा सुरुआती दुई संस्करण जितेपछि नेपालले उपाधि हात पार्न सकेको छैन। त्यसपछि भारतले २०१९ देखि २०२३ सम्म लगातार तीन पटक च्याम्पियन बन्दै वर्चस्व कायम गरेको थियो। २०२४ मा बंगलादेशले उपाधि जित्दा २०२५ मा पुनः भारत नै च्याम्पियन बनेको थियो।
पछिल्लो संस्करणमा पनि नेपाल समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो तर बंगलादेशसँग २–१ ले हार्दै फाइनल पुग्ने अवसर गुमाएको थियो।