काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा नेपाल पुलिस क्लबले उच्च स्कोरसहित प्रभावशाली जित दर्ता गरेको छ।
माथिल्लो मुलपानी मैदानमा सम्पन्न खेलमा पुलिसले एपिएफ क्लब विरुद्ध १८५ रनको फराकिलो अन्तरले विजय हासिल गर्यो। पुलिसले प्रस्तुत गरेको ३५६ रनको लक्ष्य पछ्याउने क्रममा एपिएफ ४४ ओभरमा १७० रनमै समेटियो। एपिएफतर्फ नन्दन यादवले अविजित ४४ रन तथा कमल ऐरीले ३५ रन बनाए पनि अन्य ब्याटर प्रभावकारी हुन सकेनन्।
पुलिसका बलरहरूतर्फ ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, रसिद खान र दिनेश खरेलले समान दुई–दुई विकेट हात पारे।
यसअघि टस हारेर ब्याटिङ गरेको पुलिसले ९ विकेट गुमाउँदै ३५५ रन जोड्दै प्रतियोगिताको अहिलेसम्मकै उच्च योगफल कायम गरेको हो। यो उपलब्धिसँगै यसअघि एपिएफकै नाममा रहेको ३३९ रनको कीर्तिमान भंग भएको छ।
पुलिसका लागि दिनेश खरेल (६०), शंकर राना (६१), कप्तान आरिफ शेख (५०) र दिलसाद अली (नटआउट ५१) ले अर्धशतक प्रहार गर्दै टोलीलाई मजबुत स्थितिमा पुर्याए। एपिएफका बलर कमल ऐरी र अमर रौटेलाले दुई-दुई विकेट लिए।
यसै प्रतियोगिताअन्तर्गत तल्लो मुलपानी मैदानमा भएको अर्को खेलमा बागमती प्रदेश ले पहिलो जित निकाल्दै गण्डकी प्रदेश लाई १७० रनले पराजित गर्यो।
२९५ रनको लक्ष्य पछ्याएको गण्डकी १२४ रनमै समेटिँदा अर्जुन कुमालले ७४ रनको योगदान दिए पनि अन्य ब्याटर टिक्न सकेनन्। बागमतीका रिजन ढकालले तीन विकेट लिए भने सन्दीप लामिछाने र इशान पाण्डेले दुई–दुई विकेट लिए।
यसअघि ब्याटिङ गरेको बागमतीले ८ विकेटको क्षतिमा २९४ रन बनाएको थियो, जसमा इशान पाण्डेले ७१ र आशुतोष घिरैयाले ५९ रनको योगदान गरेका थिए।