काठमाडौँ । चार ब्याटरको अर्धशतकीय पारीमा नेपाल पुलिसले एपीएफलाई ३५६ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३५५ रन बनाएको हो ।
दिनेश खरेल, शंकर राना, कप्तान आरिफ शेख र दिलसद अलिले अर्धशतकीय पारी खेले । पुलिसका लागि शंकर रानाले सर्वाधिक ६१ रन बनाए । उनले ५४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । ओपनर ब्याटर दिनेश खरेलले ६० रन बनाए । अमित श्रेष्ठले ३९ रन बनाए । रासिद खान ४४ रन बनाए । कप्तान आरिफ शेखले ५० रनको अर्धशतीय पारी खेले ।
दिलसद अलि ५१ रनमा अविजित रहे । एपीएफको लागि कमलसिंह ऐरी र अमर सिंह रौतेलाले २-२ विकेट लिए । युवराज खत्री, कप्तान रोहित पौडेल र नन्दन यादवले १-१ विकेट लिए । एपीएफले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । एपीएफ र पुलिस दुवैको यो दोस्रो खेल हो । एपीएफले पहिलो खेलमा बागमती प्रदेशलाई पराजित गरेको थियो पुलिसले भने पहिलो खेल त्रिभुवन आर्मीसँग हार बेहोरेको थियो ।