रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् ।
जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्रकोपबाट मारमा परेका हुन् ।
सोमबार साँझ आएको भीषण हावाहुरीका कारण चन्द्रपुर नगरपालिकामा अत्यधिक क्षति पुगेको छ । विशेष गरी चन्द्रपुर–३ मा लगाइएको करिब डेढ करोड रुपैयाँ बराबरको केरा खेती पूर्ण रूपमा नष्ट हुँदा किसान आर्थिक मारमा परेका छन् ।
चन्द्रपुर–१ को पौराई, चन्द्रपुर–२ को जुडिबेला, वार्ड नं ३ को गैडाटार, वार्ड नं ४ को चन्द्रनिगाहपुरलगायत गाउँमा हावाहुरीले केराखेतीमा पूर्ण रुपमा क्षति पु¥याएको छ । चन्द्रपुर–३ को गैँडाटार गाउँ केरा उत्पादनको मुख्य क्षेत्रका रूपमा परिचित छ ।
यहाँका अधिकांश किसानले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् ।
सोमबार आएको हावाहुरीले हजारौँ बोट केरा ढल्दा वर्षभरिको मेहनत एकैछिनमा नष्ट भएको स्थानीय कृषक दीपक गौतमले बताए । लगानी, श्रम र समय सबै गुम्दा किसान आर्थिक रूपमा धरासायी हुने अवस्थामा पुगेका छन् ।
केरा खेती गर्ने किसानले बर्सेनि प्राकृतिक विपत्तिको सामना गर्नुपरेको छ । हावाहुरी, रोग र कहिलेकाही जङ्गली जनावरको आक्रमणले केरा खेती नष्ट हुने गरेको तर बिमा नहुँदा सबै क्षति किसानले बेहोर्नुपरेको गौतमले बताए ।
यो क्षेत्रमा व्यावसायिक रुपमा केरा खेती गर्ने किसान बढेपछि केरा खेतीको बिमा गर्न पटकपटक चन्द्रपुर नगरपालिकामा आवाज उठाउँदा सुनवाइ नभएको उनले बताए ।
बिमाका लागि चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्ले तथा विभिन्न बिमा कम्पनीलाई आग्रह गर्दा बेवास्ता गरेको कृषक गौतमको गुनासो छ । उनले करिब ७ बिघा जमिनमा केरा खेती गर्दै आएका छन् ।
रौतहटमा करिब चार सय बिघाभन्दा बढी जमिनमा केरा खेति भएको र हावाहुरीबाट तीन करोडभन्दा बढीको क्षति पुगेको छ ।
यस्तै चन्द्रपुर–३ का अर्का किसान रमेश घिमिरेले केरा खेतीको बिमा भएमा किसानको लगानी सुरक्षित हुने बताए । यहाँ बिमा नहुँदा किसान मारमा परेको उनले बताए ।
अहिलेको समयमा हरेक बालीको बिमा अपरिहार्य भएको घिमिरेले बताए । बिमा कम्पनीले जोखिम बढी हुने भन्दै केरा खेतीको बिमा गर्न आनाकानी गर्दै आएको उनको गुनासो छ । यसले हरेक वर्ष प्राकृतिक प्रकोप आउँदा किसान थप समस्यामा पर्ने गरेका छन् ।
चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले कृषकको बाली बिमाका लागि नगरपालिका सबै किसिमको सहयोग गर्न तयार रहेको बताए ।
बालीका लागी बिमा अति आवश्यक भएकाले बिमाका लागि कुनै पनि किसिमको सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।