काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधेको छ ।
आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले केन्द्रिय आचारसंहिता अनुगमन समितिमा परेका उजुरीमध्ये २१ वटा उजुरीमा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिएको जानकारी दिए ।
आयोगले आचारसंहिता उल्लंघनका घटनाको अध्ययन र विश्लेषण गर्न कार्यदल गठन गरेको छ । कार्यदलले सोधिएको स्पष्टीकरणमा जवाफ पठाएकाहरुलाई कारबाही गर्ने वा नगर्ने निर्णय गरेर केन्द्रीय आचारसंहिता अनुगमन समितिमा सिफारिस गर्ने उनले जानकारी दिए ।
‘कसैलाई सफाईको मौका नदिईकन कारवाही गर्न हुँदैन भन्ने व्यवस्था समेत कानूनमा गरिएको हुन्छ । आयोगले स्पष्टिकरण सोध्छ, कारबाही गर्दैन भन्ने जिज्ञासा वा गुनासो पनि आउने गर्छ तर त्यो होइन । नियतवश नै आचारसंहिता उल्लङ्घन भएको रहेछ भने आयोगल थप कारबाही पनि गर्छ,’ उनले भने, ‘एउटा कार्यदल बनेको छ । कार्यदलले अध्ययन गर्ने, कारबाही गर्ने हो की होइन, स्पष्टीकरण सोध्ने हो की होईन भन्ने विश्लेषण गरेर केन्द्रिय आचारसंहिता अनुगमन समितिमा पेश गर्ने काम गरिरहेको छ ।’