काठमाडौँ । कोशी प्रदेश सरकारले प्रदेश सभाको आगामी हिउँदे अधिवेशन माघ २५ गतेदेखि आह्वान गर्ने निर्णय लिएको छ।
अधिवेशन आह्वानका लागि सरकारले सिफारिस गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले माघ २५ गते दिउँसो २ बजेदेखि प्रदेशसभाको बैठक सुरु गर्न आह्वान गरेका छन्।
मन्त्रिपरिषद् बैठकपछि बिहीबार निर्णय सार्वजनिक गर्दै आन्तरिक मामला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले हाल प्रदेशसभाको आफ्नै भवन र सचिवालय निर्माणाधीन अवस्थामा रहेकाले वैकल्पिक व्यवस्था स्वरूप विराटनगरस्थित वीरेन्द्र सभागृहमा अधिवेशन सञ्चालन गरिने जानकारी दिए।
उनका अनुसार मासिक ८ लाख रुपैयाँ भाडा तिर्ने गरी सभागृहमा प्रदेशसभाको बैठक सञ्चालन गरिनेछ।
मन्त्रिपरिषद् बैठकले प्रदेशको विकास, कानुनी संरचना र सामाजिक सुरक्षासँग सम्बन्धित थप ६ वटा महत्वपूर्ण निर्णयहरू समेत गरेको छ।