काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की आज माघी पर्वका अवसरमा थारु समुदायले आयोजना गरेको थारु राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी छन्।
थारु कल्याणकारिणी सभालगायत विभिन्न संघसंस्थाले संयुक्त रूपमा काठमाडौँको टुँडिखेलमा आयोजित सभामा प्रमुख अतिथिका रूपमा सहभागी भई प्रधानमन्त्री कार्कीले विभिन्न सांस्कृतिक झाँकीको अवलोकन पनि गरेकी हुन्।
‘थारु कला संस्कृति हाम्रो पहिचान, यसको संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा मौलिक कला तथा संस्कृति झल्किने झाँकीहरू प्रस्तुत गरिएको थियो।
प्रधानमन्त्री कार्कीले औलोसँग जुध्दै तराइलाई आवाद बनाउने कर्मशील थारु समुदायसँग आफ्नो पनि आत्मीय सम्बन्ध रहेको बताइन्।
उनले भनिन्, ‘मेरो बाल्यकाल थारु समुदायका साथीहरूसँगै बितेको छ। थारु भान्सामा पाक्ने प्रत्येक परिकारको स्वाद मेरो जिब्रोमा भिजेको छ। त्यसैले माघी पर्व मेरा लागि पनि विशेष पर्व हो।’
विभिन्न समुदायहरूले फरक–फरक नाम, शैली र परम्पराअनुसार यो चाड मनाए पनि त्यसको मर्म एउटै रहेको बताउँदै उनले थपीन्, ‘हामी विविध छौँ, तर एउटै छौँ। हामी बहुल छौँ, तर सँगै छौँ। हामी धेरै भएर नै पूर्ण छौँ।’
विश्व मानचित्रमा नेपाल एकता, सद्भाव र सहअस्तित्वको अनुपम उदाहरण बनेर उभिएको र यही नै हाम्रो मौलिक पहिचान तथा शक्ति रहेको उनको भनाइ थियो।