काठमाडौँ । सरकारले २३ र २४ भदौको जेन जेड प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ ।
घाइतेहरूको अपांगताको अवस्था र गम्भीरताका आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको हो ।
जेन जेड प्रदर्शनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि-२०८२ कार्यान्वयनमा आएसँगै प्रक्रिया अघि बढाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित प्राविधिक समितिले घाइतेहरूलाई साधारण, मध्यम, गम्भीर र अति गम्भीर गरी चार वर्गमा विभाजन गर्ने प्रावधान कार्यविधिमा उल्लेख छ ।
कार्यविधि अनुसार मध्यम घाइतेले मासिक ४ हजार, गम्भीर घाइतेले मासिक ९ हजार र अति गम्भीर घाइतेलाई जीविकोपार्जन भत्ताबापत मासिक १८ हजार दिइने छ ।