देउखुरी (दाङ)। दाङमा ४७१ जना एचआइभी एड्सका बिरामीले उपचार गराइरहेका छन् । ३८औँ विश्व एड्स दिवस २०२५ का अवसरमा स्वास्थ्य कार्यालय दाङको आयोजनामा तथा नेपाल परिवार नियोजन संघ दाङ शाखा, दाङ प्लस, नागार्जुन डेभलपमेन्ट कम्युनिटी, घोराही उपमहानगरपालिका र सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को सहआयोजनामा भएको सचेतनासम्बन्धी कार्यक्रमका उक्त जानकारी दिइएको छ ।
कार्यक्रममा सहभागीले एचआइभी एड्सको संक्रमणबाट बच्नका लागि स्वास्थ्य सचेतनासँगै सावधानी आवश्यक रहेकोमा जोड दिएका थिए । नेपाल परिवार नियोजन संघ दाङ शाखाका प्रबन्धक वसन्त खनालले जिल्लामा हाल ४७१ जना एचआइभी सङ्क्रमितले उपचार सेवामा लिइरहेको बताए । जसमा २२७ पुरुष, २३६ महिला, आठ जना यौनिक अल्पसङ्ख्यक र १८ बालबालिका उनको भनाइ छ ।
जिल्लामा एआरटी सेवा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमार्फत सेवा दिइँदै आइएको छ । स्वास्थ्य कार्यालय दाङ, स्थानीय तह र समुदायमा आधारित स्वास्थ्य संस्थाहरूले समुदायमै पुगेर परीक्षण, परामर्श, जोखिम पहिचान, कण्डम वितरण, सुई/सिरिञ्ज कार्यक्रम, स्वास्थ्य शिक्षा तथा व्यवहार परिवर्तनसम्बन्धी कार्यक्रम निरन्तर सञ्चालन गर्दै आइएको छ ।
स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख मेघराज आचार्यले यससम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको बताए । घोराही उपमहानगरपालिका, स्वास्थ्य शाखा प्रमुख राधा पौडेल, स्वास्थ्य कार्यालयका कुन्दन ठाकुरलगायतले एचआइभी रोकथामका लागि सबै सचेत हुनुपर्नेमा जोड दिएका थिए ।