भारतमा स्वास्थ्य सुरक्षा उपकरणको अभावमा केही चिकित्सकहरूले रेनकोट र बाइकको हेल्मेट लगाएर कोरोनाभाइरस रोगीको उपचार गर्नु परिरहेको छ ।
केन्द्र सरकारले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) भारी मात्रामा स्वदेशबाटै अनि दक्षिण कोरिया र चीनबाट मगाइरहेको सोमवार बताएको थियो ।
तर कोरोनाभाइरसको उपचारमा अग्रपंक्तिमा रहेका एक दर्जनभन्दा बढी चिकित्सकहरूले आफूहरूलाई उचित मास्क र वस्त्र नदिइएको रोयटर्स समाचार संस्थालाई बताए । त्यसको अभावमा आफूहरूमा कोरोना सर्ने खतरा रहेको चिकित्सकहरूको भनाइ छ ।
कोलकातामा कोरोनाको उपचार गर्ने अस्पताल बेलेघाटा सरुवा रोग अस्पतालका कनिष्ठ चिकित्सकहरूलाई रोगी जाँच्नका लागि अघिल्लो साता प्लास्टिकको रेनकोट दिइएको थियो ।
‘हामीहरू जीवन दाउमा राखेर काम गर्न सक्दैनौं,’ एकजना चिकित्सकले नाम नखुलाउने शर्तमा भने ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट इन्चार्ज डा आशिष मान्नाले यस विषयमा टिप्पणी गर्न मानेनन् ।
हरियाणामा रहेको ईएसआई अस्पतालका डा सन्दीप गर्गले एन९५ मास्कको अभावमा मोटरबाइकको हेल्मेट लगाएर उपचार गरिरहेको बताए । हेल्मेटले भाइरसका कणहरूबाट केही भए पनि सुरक्षा दिने उनको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयले रोयटर्सका प्रश्नहरूको जवाफ दिएको छैन ।
महाव्याधिका बेलामा चिकित्सकहरूले भोग्नुपरेको कष्टले सार्वजनिक स्वास्थ्य प्रणाली पुरानो भएको र चरम भारमा परेको स्पष्ट पारेको छ । वर्षौंदेखि स्वास्थ्य सेवामा बजेट कम छुट्ट्याउने गरिएको छ र स्वास्थ्य क्षेत्रलाई आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता छ ।