सुनसरीको इटहरी उपमहानगरपालिकाकी एक युवतीलाई १५ वर्षको उमेरमा बलात्कार गरी फरार भएका प्रिन्सिपललाई प्रहरीले लुकाएको पीडित युवतीका आफन्तले आरोप लगाएका छन्।
बलात्कारपछि किटानी जाहेरी दिँदा, जिल्ला अदालत सुनसरीले पक्राउ पुर्जी जारी गर्दा र सात वर्षपछि मुद्दा पुनः बाहिर आउँदा पनि प्रहरीले पक्राउ नगरी उल्टै आरोपितलाई लुकाउन खोजीको पीडित पक्षको दाबी छ।
सात वर्षअगाडि आफ्नै छात्रालाई दुई वर्षसम्म बलात्कार गरेको आरोप लागेका इटहरीको ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलका तत्कालीन प्रिन्सिपल राज खड्कालाई लुकाउन खोजेको पीडितका आफन्तको आरोप छ।
दुई वर्षसम्म पटक–पटक बलात्कार गरेको भन्दै इटहरीकी एक छात्राले सात वर्षअघि सिन्धुलीको कमलामाई गाउँपालिका–७ घर भइ इटहरीमा अध्यापन गराउँदै आएका ३१ वर्षीय खड्काविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। स्कुलकै होस्टलमा बस्दै आएकी ती किशोरीले २०७४ साल भदौ २ गते इलाका प्रहरी कार्यालय धरान पुगेर किटानी जाहेरी दिएकी थिइन्।
२०७२ मा कक्षा ९ मा पढ्दादेखि उनीमाथि प्रिन्सिपलले स्कुलको अफिस, होस्टेल, बाथरूम, साइन्स ल्याब, कम्प्युटर ल्याब, जताततै पटक–पटक जबरजस्ती करणी गरेको उनको आरोप थियो। जाहेरी परेपछि प्रहरीले ती प्रिन्सिपलविरुद्ध जबरजस्ती करणीको मुद्दा चलाएको थियो। तर प्रहरीले तीन महिनापछि मात्र जिल्ला अदालत सरकारी वकिलको कार्यालमा मुद्दा पु¥याएको थियो।
अदालतमा मुद्दा चल्नुअघि नै फरार बनेका ती प्रिन्सिपल पक्राउ नपरेपछि २०७६ साल असारमा अदालतले सो मुद्दा मुलतबीमा राखेको थियो। इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव निरीक्षक (सई) दीपक कट्वालका अनुसार सो मुद्दाको अहिलेसम्म फैसला भइसकेको छैन।
जाहेरीलगत्तै आरोपित फरार भएपछि सो मुद्दाको फैसला हुन नसकेको र मुद्दा मुल्तबीमा राखिएको उनको भनाइ छ। अहिले तीन वर्षपछि पुनः पीडित आफ्नो पुरानो मुद्दाको ‘फाइल’ खोज्दै प्रहरीसमक्ष पुगेपछि पुनः मुद्दा बाहिरिएको छ। तर अहिले पनि काठमाडौँमा एक विद्यालय सञ्चालन गरिरहेका खड्कालाई प्रहरीले पक्रन आनाकानी गरिरहेको पीडित पक्षको आरोप छ।
‘जाहेरीलगत्तै पक्रन पर्ने हो तर त्यतिबेला पक्राउ गरिएन, अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले सक्रियता देखाएन,’ पीडित स्रोतले भन्यो, ‘लामो समय प्रहरीले पक्राउ गरेर अदालतमा हाजिरी गराउन नसक्दा मुद्दा हेर्दा–हेर्दैमा राखियो। अहिले पनि पीडक कहाँ छन् भने सुनसरी प्रहरी जानकार छ तर पक्राउ गर्न सकेको छैन। यसरी हेर्दा प्रहरीको भूमिका नै आशंकाजनक देखिएको छ।’ उनका अनुसार ती आरोपितका पत्नीका भाइ मिडिया फिल्डमा छन् र उनकै सक्रियताका कारण प्रहरीले खड्कालाई पक्रिन आनाकानी गरिरहेको छ।
यता, प्रहरीले भने पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरोलाई खड्काको खोजीमा समन्वय गर्दा पनि प्रतिवादी फरार भएको बताएको छ। मिडियामा पुनः मुद्दा सार्वजनिक हुँदा खड्का सहजै उम्किएको प्रहरी बताउँछ। ‘हामीले सिआइबीलाई पत्र पठाएर पक्राउ गर्ने तयारी गरेका थियौँ तर मिडियामा खबर आएपछि उनी फरार भए। हामी खोजिरहेका छौँ। पक्राउ गरेपछि अदालतमा बुझाउँछौँ।’
पीडित स्रोतका अनुसार प्रहरी नै उनलाई लुकाउन लागिपरेको छ। ‘घटना पुनः बाहिर आउनु एक दिनअगाडि पीडक घर पुगेका थिए। तर घटना बाहिर आएपछि उनी आएका छैनन्,’ स्रोतले भन्यो, ‘गत वर्ष पनि प्रहरी पीडकको घर पुगेका थिए। सम्भवतः यही केस हुनुपर्छ। तर उनी पक्राउ परेनन्। काठमाडौँमा एउटा विद्यालय चलाउँदै छन्, कुन विद्यालय हो भन्नेचाहिँ मलाई थाहा भएन।’
स्रोतका अनुसार इटहरी–५ मा बसेर सोही स्थानमा रहेको ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुल पढाउँथे। पीडितको घर पनि इटहरी–५ नै हो। स्कुलसँगै होस्टल पनि चलाउने खड्का प्रहरीलाई पनि प्रभावमा पार्न सक्ने मान्छे रहेको स्रोतले जनाएको छ। ती किशोरीबाहेक पनि उनीमाथि धेरैले यौन दुर्व्यवहारको आरोप लगाएका थिए। तर ती किशोरीको जाहेरीपछि भने उनी परिवारसहित फरार भएका थिए। केही वर्षपछि उनले काठमाडौँमा विद्यालय सञ्चालन गर्न थालेका हुन्।
‘खुलेआम रूपमा विद्यालय सञ्चालन गर्दा पनि आरोपितलाई प्रहरीले पक्राउ गर्न नसक्नुमा प्रहरीको भूमिका आशंकाजनक देखिएको छ,’ स्रोतले भन्यो, ‘अहिले पनि न्याय पाउने आशमा पीडित अदालत पुगेपछि उनलाई प्रहरीले भगाएको हो।’
‘ब्युटी पेजेन्ट’को नाममा आफूलाई पटक–पटक बलात्कार गरेको भन्दै एक किशोरीले सामाजिक सञ्जालमार्फत घटना सार्वजनिक गरेपछि पीडितलाई आशा पलायो । ती किशोरीको पीडा सुनिदिनेको आवाज उठ्न थालेपछि न्याय पाउने आशामा इटहरीकी २१ वर्षीया युवती घटना भएको सात वर्षपछि प्रहरी कार्यालय र अदालत पुगिन्। मंगलबार मात्र उनी न्यायका लागि सुनसरी जिल्ला अदालत पुगेकी थिइन्।