
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव समेत रहेको छ ।
महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशको तराई भूभागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
आज राति मधेस र कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका थोरै स्थान र बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।