
सामाजिक, शैक्षिक तथा राजनीतिक व्यक्तित्व नन्दप्रसाद शिवाकोटीको १११ औँ जन्मजयन्तीको अवसरमा स्मारिका विमोचन तथा नन्दप्रसाद जानुका स्मृति सम्मान हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
राजधानीमा भएको कार्यक्रममा शिक्षाविद् मिलन तुलाधरलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नन्दप्रसाद जानुका फाउन्डेशनका अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले संयुक्त रुपमा तुलाधरलाई सम्मानपत्र र नगद २५ हजार रुपैयाँबाट नन्दप्रसाद जानुका स्मृति पुरस्कारबाट सम्मान गरे ।
पुरस्कार प्राप्त गरेपछि शिक्षाविद् तुलाधरले आफूले गरेको सानो कामको पनि ठूलो कदर गरेको भन्दै आभार व्यक्त गरे । उनले सरकारलाई शिक्षामा समान व्यवहार गर्न आग्रहसमेत गरे । शिक्षण क्षेत्रमा जाँदा विद्यालय पवित्र मन्दिर भएकाले त्यहाँभित्र प्रवेश गर्दा राजनीतिक जुत्ता बाहिरै फुकालेर जानुपर्ने उनले बताए ।
शिक्षाविद् तुलाधरले नन्दप्रसादले विद्यालय खोल्नका लागि अहम् त्याग गरेकोसमेत स्मरण गरे । नन्दप्रसादमा शैक्षिक र राजनीतिक दुवै दक्षता भए पनि कहिल्यै एकअर्कामा जोडिन नदिएकै कारण आज समाजले नन्दप्रसादलाई सम्झिरहेको बताए ।
२००५ सालमा स्थापित गरी २०१७ सालमा स्वीकृत भएको क्षमावती माध्यमिक विद्यालयमा २०२८ सालदेखि कार्यरत रहेर शिक्षामा योगदान दिएका तुलाधरलाई सम्मान गरिएको हो ।
०७२ को भूकम्पपछि तुलाधरले विद्यालयलाई पुरानै अवस्थामा फर्काउन महत्वपूर्ण भूमिका खेलेका थिए । तुलाधरले आफूले सम्मानबापत पाएको उक्त रकम फाउन्डेशनकै उत्थानका लागि समर्पण गरेका छन् ।
कार्यक्रममा गत वर्ष भएको फाउन्डेशनको पहिलो कार्यक्रममा भएको कार्यक्रमका वक्ता, अग्रजले पठाएका लेख र अन्य लेख थपेर तयार पारिएको नन्दप्रसादलाई समर्पित स्मारिका विमोचन गरिएको थियो ।
इतिहासमा उत्खनन् हुन नसकेका दूरदराजमा कर्म खेलेका सबैलाई जोड्ने प्रयास अन्तर्गत यो स्मारिका विमोचन गरिएको हो ।
कसले के भने ?
कांग्रेस महामन्त्री गगन थापाले प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटीप्रति नमन गरे । उनले कांग्रेस संस्थापक बीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरुको व्यक्तित्वसँगै उनीहरुका विचारलाई लिएर प्रशिक्षण दिइँदै आएको स्मरण गर्दै नन्दप्रसाद जस्ता व्यक्तित्वका पनि पुस्तकहरु प्रकाशित गरी योगदानको सम्मान गर्नुपर्नेमा जोड दिए ।
सही वा गल्ती के भइरहेको छ भन्ने कुरा थाहा पाउनका लागि विगतको सम्झना नगरी नहुने भन्दै नेता थापाले विगतमा फर्कदा नन्दप्रसादजस्ता व्यक्तित्वको योगदानलाई सधै स्मरण गर्नुपर्ने बताए ।
उनले सम्मानित व्यक्तित्व तुलाधरले भनेजस्तै शिक्षकले विद्यालयमा प्रवेश गर्नासाथ राजनीतिक आस्थालाई विद्यालयको गेटभन्दा बाहिर नै राख्नुपर्नेमा जोड दिए ।
विभिन्न जिल्ला र ठाउँ घुम्दा आफूले यथेष्ट प्रेरणा पाएको भन्दै नेता थापाले हिजो पार्टीमा सत्कर्म गर्ने मानिसहरु नभएको भए कांग्रेस अहिले टिक्दै नटिक्ने दाबी गरे । उनले पहिलेका योगदानलाई अजयबाबु शिवाकोटीले फाउन्डेशन नै खोलेर नन्दप्रसादको योगदानलाई स्मारिकाबाट बाहिर ल्याएको भन्दै अन्य थुप्रै त्यस्ता व्यक्तित्वको बारेमा पनि लेख्नुपर्ने बताए ।
उनले भने, ‘अजयबाबुजीको पार्टीको भूमिका नै प्रजातन्त्र सेनानीको उत्खनन् गर्नु भएकाले त्यसलाई निष्कर्षमा पुर्याउन अहम् भूमिका खेल्नु हुने नै छ । कांग्रेसको पुस्तकालय विभागका संयोजकसमेत रहेका शिवाकोटीले यो वर्षमात्रै १५–२० ओटा पुस्तकसमेत तयार गर्न लाग्नु भएको छ ।’
नेता थापाले कांग्रेसले चुनाव जिते वा हारे पनि कांग्रेस राष्ट्रिय शक्ति भएको भन्दै समयक्रमअनुसार कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
उनले आजको मुद्दा भनेको देशमा चरम असन्तुष्टि भएकाले ती सबै असन्तुष्टिलाई बुझेर समस्याको समाधान गर्नुपर्ने बताए ।
‘कांग्रेसले चुनाव लड्छ, चुनाव जित्न इच्छा राख्छ, सत्ता वा शक्तिमा पुग्छ , सत्तामा पुग्नु त्यो सम्झौता हो । तर सम्झौताले धेरै माथि नपुर्याउने भएकाले सशर्त भन्दा पनि माथि हामीले राष्ट्रिय शक्ति बन्नुपर्नेछ’, नेता थापाले भने ।
जनकल्याणलाई केन्द्रमा राखेर गरिने राजनीतिलाई कांग्रेसले मूल मन्त्रका रुपमा अगाडि बढाउनु पर्नेमा नेता थापाको जोड थियो ।
संख्याको आधारमा गरिने निर्णय बहुमतले अगाडि बढ्ने भए पनि पार्टीभित्र गरिने काम आम कार्यकर्ताले र देशका लागि गर्ने निर्णयलाई आम नागरिकले स्वीकार गरेका छन् कि छैनन् भनी हेरेर वैधानिकता हासिल गर्न सक्नुपर्ने उनले बताए ।
नेता थापाले आफूहरुले गरेका निर्णयहरु वैध छन् वा छैनन् भनी प्रत्येकपटक जाँच्नुपर्ने बताए । ‘हामी टिक्ने धन्धामा मात्र लाग्यौं भने हामी धेरै अगाडि बढ्न सक्दैनौँ । आजका जस्ता कार्यक्रमहरु धेरै गर्नुपर्छ । हरेक जिल्लामा नन्दप्रसादजस्ता नेताहरुलाई सम्झनु पर्छ’, उनले भने ।
कार्यक्रममा गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले कांग्रेसले नन्दप्रसादहरूलाई बिर्सन नहुनेमा जोड दिए । उनले भने, ‘हामीले लोकतन्त्र र राम्रो व्यवस्थाको कुरा गर्छौं यो त्यत्तिकै आएको हैन । जब सुन्दर भवन हामीले देख्छौँ त्यसको माटोभित्र जग हुन्छ । हामीले त्यो जगलाई बिर्सिए त्यो घर ढल्छ । त्यही अनुसार अहिलेको लोकतन्त्र प्रजातान्त्रिक सेनानीको जगबाटमात्र प्राप्त भएको हो । नन्दप्रसादजीहरु भएकालेमात्र लोकतन्त्र स्थापना भएको हो । नन्दप्रसादजीजस्ता हजारौँ सपूतहरु हुनुहुन्छ । उहाँहरुकै कारण शैक्षिक समाज स्थापित भएको हो ।’
उनले अगाडि भने, ‘लोकतन्त्रका लागि लडेका व्यक्तित्वप्रति नमन गर्दछु । कांग्रेस एउटै मूल मन्त्रले अगाडि बढ्ने हो भने कांग्रेसलाई कसैले टुक्राउन सक्दैन । कांग्रेसभित्र एकता भए पुग्छ । कांग्रेस लोकतान्त्रिक पार्टी भएको हुनाले विचार र मत फरक हुन सक्ला तर पार्टी संचालनका कार्यविधि र गतिविधिमा कुने मतान्तर छैनन् । आलोचना र विरोध सबै पार्टीको फोरमभित्र गर्ने, महाधिवेशनमा मज्जासँग प्रतिस्पर्धा गर्ने तर पार्टीभन्दा बाहिर गएर प्रतिस्पर्धा गर्दा एक ढिक्का हुन सकेमा कांग्रेस बलियो हुन्छ । यदि हामी आपसमा एक अर्कालाई सार्वजनिक रुपले कमजोर पार्नेमा लाग्यौं भने कमजोर भएका पार्टी र मानिसले कांग्रेसलाई लखेट्छन् ।’
कांग्रेस केन्द्रीय सदस्य एवं सांसद प्रतिमा गौतमले कांग्रेसका खम्बा नन्द्रप्रसाद शिवाकोटीलाई उत्खनन् गरेजस्तै उनी जस्ता गुमनाम सयौँ व्यक्तित्वलाई खोज्न फाउन्डेशनलाई सुझाव दिइन् ।
नेपाली कांग्रेस दोलखा जिल्ला सभापति बर्मा लामाले समाजमा योगदान दिनेहरुको सम्झना सधै रहने भन्दै नन्दप्रसाद शिवाकोटीको योगदानले सदा सम्झनायोग्य भएको बताए । नन्दप्रसादले राणाकालमा शिक्षामा दिएको योगदान नै महत्वपूर्ण भएको उनले बताए ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य नानु बास्तोला शिवाकोटीले समाज परिवर्तन शिक्षाबाट मात्र सम्भव छ भन्ने नन्दप्रसादको नीति नै सबैभन्दा अब्बल योगदान भएको बताइन् । नन्दप्रसादले दिएको शिक्षाको योगदान र प्रजातन्त्र सेनानीको रूपमा दिएको योगदान नै अविश्मरणीय भएको बताइन् । उनले शिक्षा र राजनीतिलाई कहिल्यै पनि सँगै राखेर नगरेको बताइन् । बास्तोलाले नन्दप्रसाद दोलखाकोमात्र नभइ राष्ट्रकै गहना भएकोसमेत बताइन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ शेर्पाले नन्दप्रसाद शिवाकोटीले दिएको योगदानको प्रशंसा गर्दै भने, ‘नन्द्रप्रसादले दिएको योगदानबारे पार्टीले लेखेको छ कि छैन त्यो मलाई थाहा छैन तर उहाँको योगदानको उच्च प्रशंसा गर्नुपर्छ । उच्च स्थान दिनुपर्छ ।’
उनले पार्टीलाई प्रजातन्त्र सेनानीले योगदान दिएको भन्दै सबै प्रजातन्त्र सेनानीको सम्मान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रजातन्त्र सेनानीका जफत भएका सम्पत्ति फिर्ता गर्न माग गरिएको थियो ।
कार्यक्रममा शिक्षासेवा सुरेन्द्र सिटौलाले फाउन्डेशनलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।
नन्दप्रसादका जेठा छोरा कृष्णप्रसाद शिवाकोटीको आजैका दिन पेको जनमदिनमा माला लगाएर बधाई दिइएको थियो । साथै लड्डु खुवाइएको थियो ।
कार्यक्रममा शंकरराज शिवाकोटी, कृष्णप्रसाद शिवाकोटी, रमेश खतिवडा, रणबहादुर थामी, बालकृष्ण दाहाल, शिक्षासेवी सुरेन्द्र सिटौला, राप्रपा नेता शोभित उप्रेती लगायतलेसमेत सम्बोधन गर्दै नन्दप्रसाद शिवाकोटीको योगदानको सम्झना गरेका थिए ।
त्यस्तै फाउन्डेशनका अध्यक्ष अजयबाबु शिवाकोटीले आफ्ना हजुरबुबा नन्दप्रसाद नै आफ्नो राजनीतिक र सामाजिक सेवाको प्रेरक व्यक्तित्व भएको भन्दै भोलिका दिनमा तमाम सामाजिक व्यक्तिहरुरूको इतिहास उत्खनन् गर्ने जनाए ।
उनले अब प्रत्येक वर्ष नन्दप्रसाद जानुका फाउन्डेशनले कार्यक्रम गर्ने र अब एउटा विषयमा केन्द्रित भएर स्मारिका निकालिने बताए ।