चितवन । चितवनका मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरका विभिन्न छ चोकमा ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको छ । सडक दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन सहज बनाउन तथा सडक सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बत्ती सञ्चालनमा ल्याइएको हो ।
पुलचोक–गोन्द्राङ छ लेन सडक र बाइपास रोडअन्तर्गतका छ स्थानमा ट्राफिक बत्ती जडान गरिएको छ । भरतपुरको चौबिसकोठीमा महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संयुक्त रूपमा स्विच थिचेर बत्ती सञ्चालनको शुभारम्भ गरेका हुन् ।
नारायणगढको पुलचोक, सहिद चोक, चौबिसकोठी, हाकिम चोक, मालपोत चोक र केन्द्रीय बसपार्कमा ट्राफिक बत्ती जडान गरिएको छ ।
कार्यक्रममा सडक डिभिजन कार्यालय चितवनका प्रमुख इञ्जिनियर अमितकुमार शर्मा र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले ट्राफिक बत्तीको प्रयोग र सडक सुरक्षाबारे जानकारी गराएका थिए ।
सबैभन्दा बढी ट्राफिक बत्ती रहेको भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष परमेश्वर खनालले महानगरपालिकाको आग्रहमा सडक विभागमार्फत बत्ती जडान गरिएको बताए । उनले जडान गरिएका बत्तीको प्रभावकारी उपयोग गर्दै ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सबैलाई आग्रह गरे ।
सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाले बत्ती जडान गरेको हो । महानगरपालिकाका छ चोकमा ट्राफिक बत्ती जडान गर्न २०८२ साउन २० गते मूल्य अभिवृद्धि करसहित एक करोड २३ लाख १४ हजार २६० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
सम्झौताअनुसार २०८२ चैत २० गतेभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि निर्माण व्यवसायीले निर्धारित समयभन्दा ढिलो गरी बत्ती जडान गरेको हो ।