पर्यटन पूर्वाधार निर्माण, साहसिक पर्यटन विस्तार र प्राकृतिक सम्पदाको दिगो उपयोगमा देखिएका कानुनी तथा प्रक्रियागत जटिलता हटाउन सरकारले विद्यमान कानुन संशोधनको तयारी थालेको छ । यस विषयमा कानुनमन्त्री सोविता गौतमको अगुवाइमा सात मन्त्रीबीच छलफल भएको छ ।
कानुन मन्त्रालयमा भएको छलफलमा प्रकृतिको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने र त्यसैमार्फत आर्थिक समृद्धि हासिल गर्ने विषयमा विचार विमर्श भएको हो । मन्त्री गौतमका अनुसार पर्यटन क्षेत्रसँग सम्बन्धित मन्त्री तथा राज्यका निकायका पदाधिकारीसँग विद्यमान कानुनी व्यवस्थामा सुधार गर्नुपर्ने विषयमा छलफल गरिएको हो ।
‘प्राकृतिक सम्पदा, जैविक विविधता तथा पर्यावरणको संरक्षण सुनिश्चित गर्दै पर्यटन पूर्वाधारको विकास, साहसिक पर्यटनको विस्तार, लगानीमैत्री वातावरणको निर्माण र स्थानीय रोजगारी सिर्जनाका लागि आवश्यक कानुनी सुधारका विषयमा छलफल केन्द्रित रह्यो,’ मन्त्री गौतमले जानकारी दिइन् ।
छलफलमा मन्त्री गौतमसँगै गृहमन्त्री सुधन गुरुङ, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह सहभागी थिए । बैठकमा प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाललगायत सम्बन्धित निकायका पदाधिकारी पनि सहभागी थिए ।
‘पर्यटन पूर्वाधार निर्माण, साहसिक पर्यटनको प्रवर्द्धन, नवीन उद्यमशीलताको विकास तथा प्राकृतिक सम्पदाको दिगो उपयोगका लागि आवश्यक कानुनी एवं नीतिगत सुधारका विषयमा महत्वपूर्ण छलफल गर्यौँ,’ मन्त्री गौतमले भनिन् ।
राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, वन क्षेत्र तथा जग्गाको उपयोगसँग सम्बन्धित विद्यमान कानुनी एवं प्रक्रियागत जटिलताका कारण पर्यटन पूर्वाधार निर्माण, सञ्चालन तथा विस्तारमा विभिन्न समस्या देखिएकाले ती समस्या समाधान गर्न बैठक आयोजना गरिएको मन्त्री गौतमले बताएकी छन् ।
पर्यटन क्षेत्रमा रहेका कतिपय सम्भावना कानुनी जटिलताकै कारण आर्थिक अवसरमा रूपान्तरण हुन नसकेकाले अब ती जटिलता फुकाउने प्रयास थालिएको उनले बताइन् ।
‘अन्तरमन्त्रालयगत समन्वयलाई प्रभावकारी बनाउँदै विद्यमान कानुनी व्यवस्थाहरूबीचको असङ्गति, प्रक्रियागत दोहोरोपन र अनावश्यक प्रशासनिक अवरोधहरू हटाउन आवश्यक कानुन संशोधनको तयारीमा जुटेका छौँ । संरक्षणका नाममा विकासका सम्भावनाहरू अवरुद्ध हुनुहुँदैन, विकासका नाममा प्राकृतिक सम्पदाको विनाश पनि हुनुहुँदैन । यी दुईबीच विवेकपूर्ण सन्तुलन कायम गर्नु हाम्रो कानुनी तथा नीतिगत सुधारको मूल उद्देश्य हो,’ उनले भनिन् ।
प्रकृतिले नेपाललाई दिएको सम्भावनालाई नेपालीको समृद्धिमा रूपान्तरण गर्ने सरकारको संकल्प रहेको मन्त्री गौतमको भनाइ छ ।