बाँके । बाँकेको नरैनापुर गाउँपालिका–५ मा अवस्थित सन्तानेश्वर महादेव मन्दिर धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण सम्भावना बोकेको स्थल भए पनि आवश्यक संरक्षण, पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।
हरियाली वनजङ्गल र पहाडको मनोरम दृश्यले घेरिएको यस मन्दिरमा शिवरात्रि, तीजलगायत विभिन्न धार्मिक पर्वमा भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ। बाँकेसहित छिमेकी जिल्लाबाट समेत श्रद्धालु आउने गरेकाले यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना छ।
तर, मन्दिरसम्म पुग्ने सडकको अवस्था सहज नहुनुका साथै खानेपानी, शौचालय, विश्रामस्थललगायत आधारभूत सुविधाको अभावले यहाँ आउने भक्तजन तथा पर्यटकले सास्ती भोग्नुपरेको छ। आवश्यक पूर्वाधार निर्माण र प्रचारप्रसार हुन नसक्दा मन्दिरको महत्वअनुसार पर्यटकीय विकास हुन नसकेको स्थानीयको गुनासो छ।
स्थानीय युवा विनय दीक्षितले मन्दिरको धार्मिक महत्व र बढ्दो आकर्षणलाई ध्यानमा राख्दै संरक्षण तथा पूर्वाधार विकासमा सम्बन्धित निकायले लगानी गर्नुपर्ने बताए।
त्यस्तै, स्थानीय युवा रामलाल यादवले धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका कारण मन्दिरप्रति आकर्षण बढ्दै गए पनि संरक्षण तथा व्यवस्थापनमा अपेक्षित ध्यान पुग्न नसकेको बताए। सम्बन्धित निकायले समयमै पहल गरे यस क्षेत्रलाई एसियाकै आकर्षक धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उनको भनाइ छ।
पर्यटन व्यवसायी श्रीराम सिग्देलले मन्दिरको प्राकृतिक वातावरण, आध्यात्मिक शान्ति र धार्मिक इतिहासलाई समेटेर पर्यटनमैत्री पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए। यसबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुनुका साथै स्थानीयस्तरमा रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने उनले बताए।
स्थानीयले मन्दिरको संरक्षण तथा विकासका लागि प्रदेश र स्थानीय सरकारसहित सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन्। स्थानीय रमेश मौर्यले मन्दिर परिसरको स्तरोन्नति, पहुँच मार्ग सुधार, खानेपानी तथा विश्रामस्थल निर्माण र धार्मिक एवं सांस्कृतिक कार्यक्रमको प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने बताए।
उनका अनुसार मन्दिर धार्मिक आस्था, इतिहास र सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा भएकाले यसको संरक्षण र विकासले नरैनापुर मात्र नभई समग्र बाँके जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउन सक्छ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले मन्दिरको संरक्षण, व्यवस्थापन तथा विकासका लागि गाउँपालिकाले निरन्तर पहल गर्दै आएको बताए। सन्तानेश्वर महादेव मन्दिरलाई बाँकेको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै उनले यसलाई व्यवस्थित र आकर्षक बनाउन प्रदेश तथा सङ्घीय सरकारले समेत विशेष प्राथमिकता दिनुपर्ने बताए।
धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्वको सङ्गमका रूपमा रहेको सन्तानेश्वर महादेव मन्दिरको योजनाबद्ध संरक्षण र पूर्वाधार विकास हुन सके नरैनापुरको पर्यटन पहिचान स्थापित हुनुका साथै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउन सक्ने अपेक्षा गरिएको छ।