काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गरिने बताएका छन् । काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा ढिलाइ गर्ने कम्पनीलाई थप समय र सुविधा दिएर आयोजना लम्ब्याउने पक्षमा सरकार नरहेको उनले स्पष्ट पारे ।
फास्ट ट्र्याकअन्तर्गत महादेवटार सुरुङको ब्रेक थ्रु कार्यक्रममा मन्त्री लम्सालले केही निर्माण कम्पनीको कमजोर कार्यसम्पादनका कारण समग्र आयोजना आलोचित बनेको बताए । उनका अनुसार प्याकेज नम्बर ९ए, ९बी र ८बी लगायतका केही प्याकेजमा निर्माण व्यवसायीको कार्यप्रगति सन्तोषजनक छैन । पटक–पटक चेतावनी, ताकेता, स्थलगत अनुगमन र पत्राचार गर्दा पनि निर्माण कम्पनीहरूले आफैँले पेस गरेको संशोधित कार्यतालिकाअनुसार काम गर्न नसकेको उनले बताए ।
‘अब यो आयोजनालाई थप लम्ब्याउन निर्माण व्यवसायीलाई थप सुविधा दिने कुनै बाटो छैन,’ उनले भने, ‘संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने निर्माण कम्पनीको ठेक्का तत्काल रद्द गर्छौं ।’
आयोजनाको काठमाडौंस्थित प्रारम्भिक बिन्दुमा देखिएका केही समस्या पनि छिट्टै समाधान गरिने उनले बताए । ती समस्या समाधान भएपछि रद्द गरिएका ठेक्काअन्तर्गतको बाँकी कामका लागि पुनः बोलपत्र आह्वान गरिने उनको भनाइ थियो । सरकारले आयोजना थप तीन वर्षभन्दा बढी लम्बिएको हेर्न नचाहेको उल्लेख गर्दै उनले आगामी जेठसम्म सम्बन्धित प्याकेजमा अपेक्षित प्रगति हुनुपर्ने बताए ।
मन्त्री लम्सालले फास्ट ट्र्याक निर्माणका चुनौतीबारे आम नागरिक र सञ्चारकर्मीलाई पर्याप्त जानकारी नभएको पनि बताए । आयोजना सुरु हुँदा कार्यान्वयनका लागि आवश्यक उपयुक्त कानुनी व्यवस्था नै नरहेको अवस्थामा नेपाली सेनाले निर्माणलाई तीव्रता दिएको उनको भनाइ थियो । महादेवटार सुरुङको ब्रेक थ्रुलाई महत्वपूर्ण उपलब्धि बताउँदै उनले उक्त सुरुङ नेपालकै सबैभन्दा लामो सडक सुरुङ भएको उल्लेख गरे ।
उनले फास्ट ट्र्याकलाई सडक पूर्वाधार निर्माणमा मात्र सीमित नराखी नेपाली प्राविधिक जनशक्तिको सीप र अनुभव अभिवृद्धि गर्ने अवसरका रूपमा लिनुपर्ने बताए । आयोजनामा कार्यरत नेपाली इन्जिनियर, परामर्शदाता, सुपरभाइजर तथा नेपाली सेनाका प्राविधिक जनशक्तिले हासिल गर्ने ज्ञान र अनुभव भविष्यका ठूला पूर्वाधार आयोजनाका लागि महत्वपूर्ण सम्पत्ति बन्ने उनको भनाइ थियो ।
आगामी दिनमा पनि यस्तै प्रकृतिका ठूला पूर्वाधार आयोजना सञ्चालन गर्ने सरकारको तयारी रहेको उल्लेख गर्दै मन्त्री लम्सालले त्यसमा नेपाली सेनाको भूमिका थप विस्तार गरिने बताए । विपद्का बेला सेनाले देखाएको तदारुकता, कार्यक्षमता र छोटो समयमै बेली ब्रिज निर्माण गर्ने सीपको पनि उनले प्रशंसा गरे ।