इलाम । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सूर्योदय नगरपालिका–७ स्थित कन्याममा आजदेखि दुईदिने ‘प्रथम सूर्योदय चिया महोत्सव–२०८३’ आयोजना हुँदैछ।
सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा आयोजना हुन लागेको महोत्सवको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वा (लिम्बू)ले गर्ने कार्यक्रम छ।
चिया पर्यटन प्रवर्द्धन गर्नुका साथै सूर्योदय नगरपालिकामा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलोपटक महोत्सव आयोजना गर्न लागिएको महोत्सव व्यवस्थापन समिति संयोजक एवं वडा नं. १० का अध्यक्ष पेमा उगेन लामाले जानकारी दिए।
उनका अनुसार महोत्सवमा आन्तरिक तथा बाह्य गरी १० हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ।
आइतबारसम्म सञ्चालन हुने महोत्सवमा ‘टि ट्रेल रेस’, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्द्धन तथा स्वाद परीक्षण, चियाबारी ट्रेल पदयात्रा, स्थानीय खानाका परिकारको प्रदर्शनी र सांस्कृतिक झाँकीलगायत कार्यक्रम समावेश गरिएका छन्।
महोत्सवमा सूर्योदय नगरपालिका क्षेत्रमा उत्पादन हुने विभिन्न ब्रान्डका चियाको प्रदर्शनी, स्वाद परीक्षण तथा बजारीकरणको व्यवस्था मिलाइएको संयोजक लामाले बताए। स्थानीय खाद्य परिकारका स्टलसमेत राखिनेछन्।
महोत्सवको आकर्षणका रूपमा महिला र पुरुषतर्फ छुट्टाछुट्टै ‘टि ट्रेल रेस’ प्रतियोगिता सञ्चालन हुनेछ। पुरुषतर्फ १२ दशमलव ५ किलोमिटर र महिलातर्फ नौ किलोमिटर दूरीको दौड प्रतियोगिता आयोजना गरिनेछ।
प्रतियोगिताको पुरुषतर्फ प्रथम हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, महिलातर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र स्वीस सरकारको सहयोगमा सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाअन्तर्गत कन्यामदेखि श्रीअन्तुसम्म २५ दशमलव पाँच किलोमिटर लामो चिया पदमार्ग निर्माण भइरहेको छ। सूर्योदय नगरपालिका–७ कन्यामदेखि वडा नं. ५ श्रीअन्तुसम्म निर्माणाधीन उक्त पदमार्गको प्रचारप्रसारलाई महोत्सवको मुख्य उद्देश्य बनाइएको छ।
महोत्सव सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
सूर्योदय नगरपालिका–७ मा अवस्थित कन्याम इलामको प्रमुख पर्यटकीय गन्तव्य हो। चारैतिर हरियाली चियाबारीले घेरिएको कन्याममा वनभोज, घोडचढी, फोटो तथा भिडियो खिच्न र प्राकृतिक दृश्यावलोकनका लागि दैनिक ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गर्छन्।
मेची राजमार्गसँग जोडिएको कन्याम पुग्न झापाको चारआलीबाट करिब एक घण्टा लाग्छ। प्राकृतिक सौन्दर्य र मनोरम चियाबारीका कारण कन्याम आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित छ।