काठमाडौं– श्रीलंकाली खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा चितवनलाई २ विकेटले हराउँदै सुदूरपश्चिम लगातार तेस्रो संस्करणमा फाइनल पुग्न सफल भएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो। जवाफमा १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो।
सुदूरपश्चिमको जितमा थरिन्दुले अविजित ५३ रन बनाउनुका साथै बलिङमा दुई विकेट लिए। उनले ४२ बलमा सात चौका प्रहार गरे। टोलीलाई जिताउन उनले अन्तिम ओभरमा विजयी चौका प्रहार गरेका थिए।
लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले सुरुवातमै केही महत्वपूर्ण विकेट गुमाएको थियो। आक्रामक ब्याटिङ गरेका ओपनर विनोद भण्डारीले १३ बलमा एक चौका र दुई छक्कासहित २३ रन बनाए। उनले पहिलो विकेटका लागि जर्ज मन्सेसँग २३ रनको साझेदारी गरेका थिए।
तर मन्से १५ बलमा आठ रन बनाएर आउट भए। त्यसपछि स्कट कुगेलेइन दुई र इशान पाण्डे १० रनमा आउट हुँदा सुदूरपश्चिम ४५ रनमा चार विकेट गुमाएर दबाबमा परेको थियो।
त्यसपछि थरिन्दुले कप्तान दीपेन्द्रसिंह ऐरीसँग पाँचौँ विकेटका लागि ३१ रन र आरिफ शेखसँग छैटौँ विकेटका लागि २६ रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ अघि बढाए। दीपेन्द्रले १५ र आरिफले १० रन बनाए।
एकपछि अर्को विकेट गुमे पनि थरिन्दुले एक छेउ सम्हाल्दै टोलीलाई लक्ष्यसम्म पुर्याए।
चितवनका लागि रञ्जित कुमारले दुई विकेट लिए भने कमलसिंह ऐरी, रिजन ढकाल, उसामा मिर र सलाहुद्दिन खानले एक–एक विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको चितवनका लागि डाविड मलानले अविजित ७१ रन बनाएका थिए। उनले ५१ बलमा नौ चौका र दुई छक्का प्रहार गरे।
ओपनर कमिल मिशारा दोस्रो ओभरमै चार रन बनाएर आउट भएपछि वान डाउनमा आएका मलानले अन्तिमसम्म टिकेर ब्याटिङ गरेका थिए। उनले सातौँ विकेटका लागि सलाहुद्दिन खानसँग ४० रनको साझेदारी गरे। खानले १६ बलमा एक छक्कासहित १८ रन बनाए।
त्यस्तै कमलसिंह ऐरीले आठ बलमा एक छक्कासहित १० रन जोडे। चितवनका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले तीन विकेट लिए। थरिन्दुले दुई विकेट लिँदा हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले एक–एक विकेट हात पारे।
यसअघि पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अर्को अवसर पाएको थियो। त्यस अवसरलाई सदुपयोग गर्दै सुदूरपश्चिमले उपाधि भिडन्त पक्का गरेको हो।
अब सुदूरपश्चिमले उपाधिका लागि आगामी शनिबार लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ। लगातार तेस्रोपटक फाइनल पुगेको सुदूरपश्चिम यसपटक पहिलो एनपीएल उपाधि जित्ने लक्ष्यमा हुनेछ।