चन्दा क्षेत्री/काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी जुनमा बेलायत भ्रमण गर्ने भएको छ। भ्रमणका क्रममा नेपालले बंगलादेश, आयरल्यान्ड र स्कटल्यान्डसँग गरी ६ अन्तर्राष्ट्रिय खेल खेल्नेछ। भ्रमणको सबैभन्दा महत्त्वपूर्ण प्रतिस्पर्धा भने विश्व क्रिकेटको ऐतिहासिक मैदान लर्ड्समा बंगलादेशसँग हुने टी–२० अन्तर्राष्ट्रिय खेल हुनेछ।
मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) ले बिहीबार सार्वजनिक गरेको तालिकाअनुसार नेपालले सन् २०२७ जुन ३ मा लर्ड्समा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यो नेपालले आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग लर्ड्स मैदानमा खेल्न लागेको पहिलो खेल हुनेछ। बंगलादेशका लागि पनि उक्त मैदानमा पुरुषतर्फको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल हुनेछ।
नेपाल क्रिकेट संघ (क्यान) र एमसीसीका प्रतिनिधिहरूले बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमार्फत नेपालको बेलायत भ्रमणबारे जानकारी दिएका हुन्।
निर्धारित तालिकाअनुसार नेपालले जुन १ मा वर्म्स्लीमा स्कटल्यान्डसँग ५० ओभरको खेल खेल्दै भ्रमणको सुरुवात गर्नेछ। त्यसको दुई दिनपछि जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल हुनेछ। उक्त खेल सोही दिन आयोजना हुने पुरुषको टी–२० ब्लास्ट खेलसँगै डबलहेडरका रूपमा सञ्चालन गर्ने योजना छ। लर्ड्समा पहिलो पटक पुरुष अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटका खेल एउटै दिन आयोजना हुन लागेका हुन्। यद्यपि, घरेलु खेलको अन्तिम तालिका टी–२० ब्लास्टको खेल तालिका सार्वजनिक भएपछि निश्चित हुनेछ।
नेपालले जुन ६ मा वर्म्स्लीमै आयरल्यान्डसँग ५० ओभरको खेल खेल्नेछ। त्यसपछि जुन ९ मा सोही मैदानमा आयरल्यान्डसँग पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल हुनेछ। भ्रमणका अन्तिम दुई खेल जुन ११ र १२ मा बेकनहमस्थित काउन्टी मैदानमा हुनेछन्। दुवै खेलमा नेपालले आयरल्यान्डसँग टी–२० अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्नेछ।
यसरी नेपालले भ्रमणमा दुई एकदिवसीय र चार टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ। एमसीसीका अनुसार भ्रमणका सबै खेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यताप्राप्त र इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) बाट स्वीकृत छन्।
नेपालले यसअघि सन् २०१८ मा एमसीसी र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक शृंखलाका क्रममा लर्ड्समा टी–२० अन्तर्राष्ट्रिय खेलेको थियो। त्यसैले आगामी भ्रमणमा नेपालले उक्त ऐतिहासिक मैदानमा दोस्रो पटक खेल्ने अवसर पाउनेछ।
बंगलादेशका लागि भने यो लर्ड्समा पुरुषतर्फको पहिलो टी–२० अन्तर्राष्ट्रिय हुनेछ। बंगलादेशको पुरुष टोलीले आगामी वर्ष मे महिनाको अन्त्यमा इंग्ल्यान्डसँग टेस्ट खेल्दै १७ वर्षपछि लर्ड्समा पुनरागमन गर्नेछ। त्यसको केही दिनपछि नेपालसँगको टी–२० खेल खेल्नेछ।
एमसीसीका प्रमुख कार्यकारी तथा सचिव रोबर्ट लसनले नेपालसँगको सम्बन्ध पछिल्ला वर्षमा थप सुदृढ हुँदै गएको बताएका छन्। उनले नेपाली क्रिकेटप्रतिको असाधारण लगाव र खेलले समुदायलाई एकताबद्ध गर्न सक्ने भूमिकाको प्रशंसा गर्दै दुवै टोलीलाई लर्ड्समा स्वागत गर्न आफूहरू उत्साहित रहेको बताएका छन्।
क्यानका सचिव पारस खड्काले लर्ड्समा पुनः खेल्न पाउनु नेपाली क्रिकेटका लागि गर्व र सम्मानको विषय भएको बताएका छन्। एमसीसीसँगको सहकार्यले नेपाली क्रिकेटको विकास, अन्तर्राष्ट्रिय अनुभव र नयाँ अवसर सिर्जना गर्न महत्त्वपूर्ण योगदान पुर्याएको उनको भनाइ छ।
त्यस्तै, क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बंगलादेशसँग लर्ड्समा खेल्न पाउनुलाई ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन्। उनले आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग उक्त मैदानमा प्रतिस्पर्धा गर्न पाउनु नेपाली क्रिकेटका लागि विशेष उपलब्धि हुने बताएका छन्।
एमसीसी र क्यानबीच पछिल्ला वर्षमा क्रिकेट विकास तथा अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा सम्बन्ध विस्तार हुँदै आएको छ। एमसीसी फाउन्डेसनले सन् २०१९ देखि नेपालमा क्रिकेटमार्फत सामाजिक परिवर्तन र युवा सहभागिता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको छ। क्यानसँगको सहकार्यमा कोशी र मधेश प्रदेशमा सञ्चालित ती कार्यक्रमबाट गत वर्ष ४५ हजारभन्दा बढीले सहभागिता जनाएका थिए। ती कार्यक्रमका केही लाभार्थी नेपाली राष्ट्रिय युवा टोलीमा समेत छनोट भइसकेका छन्।