काठमाडौं । नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त भएका छन् ।
बिहीबार सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा सेनाले श्रेष्ठलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी गराएको हो ।
नवनियुक्त प्रवक्ता श्रेष्ठले नेपाली सेनाका विकास निर्माण तथा विपद् व्यवस्थापनलगायत गतिविधिबारे आम नागरिकलाई जानकारी गराउन सञ्चारमाध्यमसँग निरन्तर संवाद र सहकार्य गर्ने प्रतिबद्धता जनाए । उनले भ्रामक समाचार तथा सूचना चिर्ने र सैनिक गतिविधिसम्बन्धी सूचना प्रवाहलाई थप सहज, प्रभावकारी र पारदर्शी बनाउने आफ्नो प्राथमिकता रहेको बताए ।
नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्ध सुरुदेखि नै सौहार्दपूर्ण, व्यावसायिक र प्रगाढ रहँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा यसलाई थप सुदृढ बनाउने बताए । साथै, नागरिकको सूचनाको हक सुनिश्चित गर्न सञ्चारमाध्यम र सञ्चारकर्मीले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै उनले निवर्तमान सैनिक प्रवक्ताको भूमिकाको पनि सराहना गरे ।
श्रेष्ठ २०४८ सालमा अधिकृत क्याडेटका रूपमा नेपाली सेनामा प्रवेश गरेका थिए । उनले यसअघि सेनाका विभिन्न विभागमा रहेर जिम्मेवारी सम्हालिसकेका छन् ।