काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले कतारमा आयोजना हुने ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६’ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा परिवर्तन गरेको छ।
क्यानले बिहीबार विज्ञप्ति जारी गर्दै तीव्र गतिका अनुभवी बलर सोमपाल कामी चोटका कारण प्रतियोगिताबाट बाहिरिएको जनाएको छ।
एसबीएल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अन्तिम खेलका क्रममा घाइते भएका सोमपालले नोभेम्बर १९ देखि २९ सम्म कतारमा आयोजना हुने प्रतियोगिता गुमाउने भएका हुन्।
उनको स्थानमा क्यानले तीव्र गतिका बलर प्रतिश जीसीलाई टोलीमा समावेश गरेको छ।
त्यस्तै, यसअघि ट्राभलिङ रिजर्भमा रहेका मयन यादवलाई पनि मुख्य टोलीमा बढुवा गरिएको क्यानका सचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।