रसुवा । रसुवाको गोसाइँकुण्ड क्षेत्रमा अवस्थित भैरवकुण्ड धार्मिक आस्था, पौराणिक किंवदन्ती र पुस्तौँदेखि चलिआएका जनविश्वासका कारण विशिष्ट पहिचान बोकेको तीर्थस्थल हो । गोसाइँकुण्ड क्षेत्रमा रहेका दर्जनौँ साना–ठूला कुण्डमध्ये भैरवकुण्डलाई भय र निषेधसँग जोडिएको कुण्डका रूपमा चिनिन्छ ।
समुद्री सतहबाट उच्च हिमाली क्षेत्रमा रहेको मुख्य गोसाइँकुण्ड (छोकर) भन्दा तल र सरस्वतीकुण्ड (वाङ्लत्ती) भन्दा माथि भैरवकुण्ड अवस्थित छ । स्थानीय तामाङ समुदायले यसलाई ‘छोना’ अर्थात् कालोकुण्डका रूपमा सम्बोधन गर्ने गरेका छन् ।
गोसाइँकुण्डलाई शुद्धता, जीवन र आशीर्वादको प्रतीक मानिन्छ भने भैरवकुण्डलाई भय र निषेधको प्रतीकका रूपमा लिइन्छ । यही धार्मिक मान्यताका कारण गोसाइँकुण्ड दर्शन गर्न पुग्ने तीर्थयात्रीले भैरवकुण्डमा स्नान गर्दैनन् । गोसाइँकुण्डको परिक्रमा गरेर फर्कँदा भैरवकुण्डतर्फ फर्केर हेर्नसमेत नहुने जनविश्वास रहिआएको छ ।
गोसाइँकुण्ड गाउँपालिका–५ की कार्यवाहक वडाध्यक्ष डोल्मा याङजेन तामाङका अनुसार गोसाइँकुण्डमा श्रद्धापूर्वक स्नान गर्ने तीर्थयात्री भैरवकुण्डमा भने नहेरी र नस्नाई अगाडि बढ्ने परम्परा छ । यस परम्पराको महत्वबारे आगन्तुकलाई जानकारी गराउन सुरक्षित पदमार्ग निर्माण तथा सूचना पाटी राख्ने योजना वडा कार्यालयले बनाएको उनले बताइन् ।
भैरवकुण्डको उत्पत्तिबारे हिन्दु र बौद्ध धर्मसँग सम्बन्धित विभिन्न पौराणिक कथा तथा जनश्रुति प्रचलित छन् । हिन्दु धार्मिक मान्यताअनुसार सत्ययुगमा भगवान् शिवले ब्रह्माको शिर छेदन गरेपछि लागेको दोषबाट मुक्ति पाउन र शारीरिक कष्ट शान्त पार्न गोसाइँकुण्डभन्दा तल यस कुण्डको निर्माण गरी तपस्या गरेका थिए ।
अर्को किंवदन्तीअनुसार देवता र दानवबीच समुद्र मन्थन हुँदा निस्किएको विष सृष्टिको रक्षाका लागि महादेवले पिएका थिए । घाँटीमा अड्किएको विषको डाह सहन नसक्दा महादेवको शरीरबाट बगेको पसिना जमेर भैरवकुण्ड बनेको विश्वास गरिन्छ । विषयुक्त पसिनाबाट कुण्ड बनेको मान्यताका कारण यहाँ विषालु नागको बास रहेको र यसको पानी अशुद्ध हुने जनविश्वाससमेत छ ।
बौद्ध धर्मसँग जोडिएको अर्को जनश्रुतिअनुसार भैरवकुण्डको निर्माण महादेवका दाजु ‘छोना’ ले गरेका हुन् । रसुवाका लेखक फुर्पा तामाङद्वारा लिखित ‘जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म–संस्कृति’ पुस्तकमा उल्लेख भएअनुसार स्वच्छ बासस्थानको खोजीमा निस्किएका दाजुभाइमध्ये दाजु छोनाले उपयुक्त स्थान भेटेपछि भाइलाई बिर्सिएका थिए ।
दाजुको व्यवहारबाट क्रोधित भएका महादेवले ‘मन कालो भएकाले तिमीले बनाएको कुण्ड पनि कालो होस्’ भन्दै श्राप दिएको कथन छ । यही श्रापका कारण छोनाले बनाएको कुण्ड कालोकुण्ड अर्थात् भैरवकुण्ड र महादेवले बनाएको कुण्ड सेतोकुण्ड अर्थात् गोसाइँकुण्डका रूपमा चिनिएको जनविश्वास उक्त पुस्तकमा उल्लेख गरिएको छ ।
धुन्चेका स्थानीय तथा लामा गुरु रिन्जेन घलेका अनुसार बौद्ध र तामाङ परम्परामा गोसाइँकुण्डलाई ‘छोकर’ अर्थात् शुद्ध सेतो कुण्ड र भैरवकुण्डलाई ‘छोना’ अर्थात् कालोकुण्डका रूपमा बुझिन्छ । भैरवकुण्डमा क्रोध र विसर्जनको ऊर्जा रहने धार्मिक विश्वासका कारण त्यहाँ स्नान गर्न र फर्केर हेर्नसमेत निषेध गरिएको उनी बताउँछन् । उनका अनुसार यस्तो मान्यताले प्रकृति र धार्मिक आस्थाप्रतिको अनुशासनलाई समेत प्रतिबिम्बित गर्छ ।
भैरवकुण्डसँग तामाङ समुदायको गोले थरका मानिसको विशिष्ट कुलपरम्परा पनि जोडिएको छ । पुर्ख्यौली कथनअनुसार प्राचीनकालमा गोले थरका एक झाँक्री श्रीमतीसहित गोसाइँकुण्ड क्षेत्रमा पुगेका थिए । भैरवकुण्डमा रहेको विषालु नागलाई वशमा पार्ने उद्देश्यले उनले आफू कुण्डभित्र रहुन्जेल श्रीमतीलाई निरन्तर ढ्याङ्ग्रो बजाउन र अक्षता छरिरहन आग्रह गरेका थिए । त्यसपछि उनी नागसँग संघर्ष गर्न कुण्डभित्र पसे ।
लामो संघर्षपछि नागलाई पराजित गरी झाँक्री सतहमा आउन लाग्दा कुण्डको भयावह अवस्था देखेर उनकी श्रीमती आत्तिइन् । उनले ढ्याङ्ग्रो बजाउन र अक्षता छर्न छाडेर त्यहाँबाट भागेपछि झाँक्रीको शक्ति कमजोर भएको र नागले बेरेर उनको ज्यान लिएको किंवदन्ती छ ।
यही घटनासँग जोडिएको पुर्ख्यौली मान्यताका कारण गोले थरका मानिसले आजसम्म भैरवकुण्ड र कतिपय अवस्थामा गोसाइँकुण्डसमेत नजाने परम्परा कायम राखेको बताइन्छ ।
नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङका अनुसार गोले थरका मानिसले पुर्ख्यौली कुलपरम्परालाई निरन्तरता दिँदै भैरवकुण्ड नजाने चलन अझै कायम राखेका छन् । उनका अनुसार यस्ता मौखिक इतिहास, धार्मिक विश्वास र अमूर्त सांस्कृतिक सम्पदाको अभिलेखीकरण तथा संरक्षण गर्न सके रसुवाको धार्मिक, सांस्कृतिक र अध्ययन पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावना खुल्न सक्छ ।