सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् ।
सभापति लामिछानेको सचिवालयले दिएको जानकारीअनुसार सभापति लामिछाने तीन दिनका लागि भारत भ्रमणमा जाने भएका हुन् । उनी राजनीतिक भ्रमणमा नभई पारिवारिक तीर्थाटनका लागि भारत भ्रमणमा जान लागेको सचिवालयले जानकारी दिएको छ ।’राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेज्यू भोलि मिति २०८३ कार्तिक ६ गतेदेखि तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गर्ने व्यहोरा सम्पूर्ण पार्टी पङ्क्ति, शुभचिन्तक, आम जनसमुदाय तथा सम्बन्धित सबैमा जानकारी गराउँदछौँ’, सभापति लामिछानेको सचिवालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
सभापति लामिछाने सुदूरपश्चिमको कैलाली जिल्ला हुँदै भारत भ्रमणमा जान लागेका हुन् । ‘यस भ्रमणका क्रममा सभापतिज्यूले धनगढी हुँदै भारतको उत्तराखण्ड ,नैनीताल स्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम तय भएको छ,’ लामिछानेको सचिवालयले भनेको छ ।
सभापति लामिछाने तीन दिने आध्यात्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरी नेपाल फर्किने कार्यक्रम रहेको छ।