नारायणगढ (चितवन)। चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिरसम्म सञ्चालन हुँदै आएको मनकामना केबलकार मंगलबार एक दिन बन्द हुने भएको छ।
चाडपर्वलाई लक्षित गर्दै नियमित मर्मतसम्भार तथा प्राविधिक निरीक्षण गर्न केबलकार सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले बताए।
उनका अनुसार केबलकार बन्द रहेको समयमा टावर तथा दुवै स्टेसनको मर्मतसम्भार, निरीक्षण र प्राविधिक अवस्थाको जाँच गरिनेछ।
“टावर र स्टेसनको मर्मतसम्भार गर्नुपर्ने भएकाले एक दिन सेवा बन्द गर्न लागिएको हो,” शेरचनले भने।
उनका अनुसार बुधबारदेखि केबलकार सेवा नियमित रूपमा सञ्चालनमा आउनेछ। सेवा बन्द रहनेबारे कम्पनीले सामाजिक सञ्जालमार्फत समेत जानकारी गराइसकेको जनाएको छ।
एक दिन सेवा बन्द हुँदा यात्रु तथा भक्तजनमा पर्न जाने असुविधाप्रति मनकामना दर्शन प्रालिले क्षमायाचना गरेको छ।