भोजपुर । पौवादुङमा गाउँपालिकामा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्वको कोटगढी संरक्षण र पूर्वाधार विकाससँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ। आन्तरिक पर्यटनको सम्भावनालाई उपयोग गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले गाउँपालिकाले कोटगढी क्षेत्रको विकासलाई प्राथमिकता दिएको हो।
कोटगढीको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गर्ने उद्देश्यले परिसरमा मन्दिर निर्माण गर्नुका साथै सिँढीसहितको पदमार्ग निर्माण गरिएको छ। पूर्वाधार निर्माणपछि आन्तरिक पर्यटक, धार्मिक श्रद्धालु तथा इतिहास र संस्कृतिमा रुचि राख्नेहरूको आवागमन बढ्न थालेको स्थानीयवासीले बताएका छन्।
स्थानीयवासी सन्तोष कोइरालाले कोटगढीको संरक्षणसँगै आवश्यक पूर्वाधार निर्माण भएपछि क्षेत्रको पहिचान थप स्थापित हुन थालेको बताए। उनका अनुसार कोटगढीको विकासले नयाँ पुस्तालाई स्थानीय इतिहास, संस्कृति र पहिचानबारे बुझ्ने अवसरसमेत दिएको छ।
“आगामी दिनमा थप पूर्वाधार निर्माण, विश्रामस्थल व्यवस्थापन र प्रचारप्रसारमा ध्यान दिन सके कोटगढी भोजपुरकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्छ,” कोइरालाले भने।
गाउँपालिका केन्द्रनजिकै रहेको कोटगढीमा सहज पहुँचका लागि गाउँपालिकाले ३५ लाख रुपैयाँ बजेट र २० प्रतिशत स्थानीय श्रमदानको सहभागितामा सिँढीसहितको पदमार्ग निर्माण गरेको हो। स्थानीय बासिन्दा तथा आगन्तुकको सुरक्षित र सहज आवागमनका लागि पदमार्गलाई दुईतर्फबाट सिँढीसहित निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले कोटगढी ऐतिहासिक दृष्टिले महत्वपूर्ण क्षेत्र भएकाले यसको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा जोड दिइएको बताइन्।
“कोटगढी आफैँमा ऐतिहासिक क्षेत्र हो। हामीले यसको संरक्षण र विकासलाई प्राथमिकतामा राखेका छौँ,” उनले भनिन्।
गाउँपालिका अध्यक्ष किरण राईले पालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलको एकीकृत विकासका लागि योजनाबद्ध रूपमा काम भइरहेको बताए। सम्भावनायुक्त क्षेत्रको पहिचान गरी आवश्यक पूर्वाधार निर्माण तथा प्रवर्द्धनका कार्यक्रम अघि बढाइएको उनको भनाइ छ।
“गाउँपालिकाभित्र रहेका सम्भावनायुक्त क्षेत्रको पहिचान गरी योजनाबद्ध रूपमा विकास गर्ने नीति लिएका छौँ,” अध्यक्ष राईले भने, “कोटगढीजस्ता ऐतिहासिकस्थलको संरक्षण र प्रवर्द्धनले पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरेका छौँ।”