जनकपुरधाम । बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच झडप र आगजनी भएपछि अवस्था तनावपूर्ण बनेको छ। स्थिति नियन्त्रणबाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाउने तयारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार अस्पताल उद्घाटनलाई लिएर दुई पक्षबीच विवाद हुँदा गोली चलेको हो। घटनामा स्थानीय १७ वर्षीय आदित्य पासवान गम्भीर घाइते भएका छन्। उनको वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ।
अस्पतालमा आवश्यक सेवा–सुविधा, जनशक्ति र स्रोतसाधनको व्यवस्था नगरी उद्घाटन गर्न लागिएको भन्दै स्थानीयले विरोध जनाएका थिए। स्थानीयका अनुसार उनीहरूले शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरीले लाठीचार्ज गरेपछि अवस्था थप तनावपूर्ण बनेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटालाई प्रमुख अतिथि बनाएर दिउँसो १ बजे अस्पताल उद्घाटन गर्ने कार्यक्रम तय गरिएको थियो। तर, विवाद चर्किएपछि सांसद बास्कोटा कलैयामै रोकिएकी थिइन्।
झडपका क्रममा करिब एक दर्जन सवारीसाधनमा आगजनी भएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए। उनका अनुसार स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्भावित हिंसा रोक्न कर्फ्यु लगाउने तयारी भइरहेको छ।
घटनापछि सम्भावित थप झडप र हिंसा नियन्त्रण गर्न घटनास्थल तथा आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।