नुवाकोट । निरन्तरको वर्षासँगै त्रिशूली नदीमा पानीको बहाव बढेपछि नुवाकोटमा सञ्चालनमा ल्याइएका तुइन बन्द भएका छन् । तुइनका घिर्नी सञ्चालनमा प्राविधिक समस्या देखिनुका साथै नदी वारपार गर्दा जोखिम बढेपछि विदुर नगरपालिकाका चार स्थानमा सञ्चालनमा रहेका तुइन बन्द गरिएको हो ।
तुइन बन्द भएपछि त्रिशूली नदी वारपार गर्न स्थानीयवासीलाई बेलकोटगढी नगरपालिकातर्फ रहेका झोलुङ्गे पुल वा धादिङको गल्छीस्थित पक्की पुल प्रयोग गर्नुपर्ने बाध्यता भएको छ ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नदी वारपार गर्ने पुलसहित सडकको पहुँचमार्ग बगाएपछि विदुर नगरपालिका र बागमती प्रदेश सरकारको सहकार्यमा विभिन्न चार स्थानमा तुइन जडान गरी सञ्चालनमा ल्याइएको थियो ।
त्रिशूली नदी आसपासका बस्तीलाई जोड्न विदुर नगरपालिका–१ इन्द्रायणीचौरमा दुई स्थान, वडा नं. ४ र १२ जोड्ने सिमचौरमा एक स्थान तथा वडा नं. ५ र ३ जोड्ने देवीघाटमा एक स्थानमा तुइन जडान गरिएको थियो ।
पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाका अनुसार निरन्तर वर्षाका कारण नदीको बहाव बढ्नुका साथै तुइनका घिर्नी सञ्चालनमा कठिनाइ देखिएपछि सेवा रोकिएको हो ।
“प्राविधिक समस्या र नदीको बहावबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै तुइन सञ्चालन रोकिएको हो,” उनले भने, “मौसम सफा भएर नदीको बहाव घटेपछि पुनः सञ्चालनमा ल्याइनेछ ।”
देवीघाटमा जडान गरिएको तुइनको लठ्ठा बाँधिएको रुखसमेत त्रिशूली नदीको कटानका कारण जोखिममा परेको छ । वडा नं. ३ तर्फ लठ्ठा बाँधिएको रुखमा नदीको कटानले क्षति पुर्याएकाले मौसम सफा भएपछि प्राविधिक अध्ययन गरेर मात्र उक्त तुइन सञ्चालनमा ल्याइने प्रमुख थापाले बताए ।
भोटेकोशी बाढीपछि देवीघाटस्थित तादी खोलामा नेपाली सेनाको सहयोगमा एक्रोब्रिज सञ्चालनमा आएपछि धादिङतर्फको आवतजावत केही सहज भएको छ । तर, त्रिशूली नदीमा पानीको बहाव उच्च रहेकाले तत्काल पक्की वा अन्य वैकल्पिक पुल निर्माण गर्न नसक्दा नदी वारपारका लागि तुइन नै प्रमुख माध्यम बनेको थियो ।
तुइनसमेत बन्द भएपछि नदीपारिका बस्तीमा राहत तथा उद्धारमा समेत समस्या भएको स्थानीयले बताएका छन् । बाढीले क्षति पुर्याएका घरका भग्नावशेष हटाउने, खोज तथा उद्धार गर्ने र राहत सामग्री पुर्याउने काम प्रभावित भएको विदुर नगरपालिका–७ का अध्यक्ष रविन्द्र नेपालले बताए ।
उनका अनुसार नदी वारपार गर्ने माध्यम बन्द हुँदा दैनिक उपभोग्य सामग्रीको आपूर्तिसमेत प्रभावित भएको छ ।
नदी पार गर्ने सहज माध्यम नहुँदा सदरमुकाम विदुरबाट त्रिशूली नदीपारि रहेको त्रिशूली अस्पताल पुग्नसमेत समस्या भएको छ । उपचारका लागि बिरामीलाई जिल्ला बाहिर लैजानुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ ।
तुइन बन्द भएपछि विदुर नगरपालिकाका नदीपारिका आठ वडा तथा किस्पाङ र म्यागङ गाउँपालिकासँगको नियमित आवतजावतसमेत प्रभावित भएको छ ।