महेन्द्रनगर – लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी हुँदै नेपाल–भारत आवागमन प्रभावित भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार आज गरिएको मापनमा महाकाली नदीको पानीको बहाव एक लाख ७५ हजार ७०० क्युसेक पुगेको छ।
पानीको बहाव बढेपछि भारतीय पक्षले शारदा ब्यारेज (बनवासा पुल) मा चारपाङ्ग्रे तथा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। अहिले मोटरसाइकललगायत साना सवारीसाधनलाई मात्रै पुलबाट आवतजावत गर्न दिइएको छ।
करिब एक सय वर्ष पुरानो बनवासा पुलमा महाकाली नदीको बहाव एक लाख क्युसेक नाघेपछि भारतीय पक्षले ठूला सवारीसाधनको आवागमनमा रोक लगाउँदै आएको छ। हाल पुलको दुवैतर्फ ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला, बैतडी र डडेल्धुराका साथै भारतीय क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण महाकालीमा पानीको बहाव बढेको हो। नदीमा पानीको सतह निरन्तर बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।
यसैबीच, भारी वर्षाका कारण जनधनको क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै कञ्चनपुरबाट सञ्चालन हुने लामो दूरीका सवारीसाधनमा पनि रोक लगाइएको छ। महाकाली बहुउद्देश्यीय यातायात कम्पनी प्रालिका अध्यक्ष नवीन भट्टका अनुसार शुक्रबारदेखि महेन्द्रनगर र बेलौरीबाट काठमाडौं, पोखरालगायत गन्तव्यका लागि चल्ने लामो दूरीका यात्रुवाहक बस सञ्चालन गरिएको छैन।
छोटो दूरीका धनगढी, महेन्द्रनगरलगायतका सवारीसाधन भने सञ्चालनमा रहेको भट्टले बताए। उनका अनुसार सुदूरपश्चिमका पहाडी जिल्लातर्फ पनि सवारीसाधन पठाइएको छैन। लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेकाले लामो दूरी तथा पहाडी रुटका सवारीसाधन रोकिएको हो।