नवलपुर – नारायणी नदीमा पानीको बहाव बढेपछि चितवन र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जोड्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणी नदीमाथिको पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
नदीमा पानीको सतह बढेसँगै पुल अत्यधिक हल्लिन थालेपछि सुरक्षाका लागि सवारीसाधन आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए।
उनका अनुसार केही समय पुलमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएकामा अहिले नवलपुरबाट चितवनतर्फ जाने मोटरसाइकललाई मात्र आवागमन गर्न दिइएको छ। अन्य सवारीसाधनलाई गैँडाकोटमै रोकिएको छ भने चितवनको नारायणघाटबाट नवलपुरतर्फ आउने सवारीसाधनलाई पनि रोकिएको प्रहरीले जनाएको छ।
सम्भावित जोखिम न्यूनीकरणका लागि पुलमाथि सवारीसाधन रोक्ने तथा पैदल हिँडेर फोटो र श्रव्यदृश्य सामग्री खिच्नसमेत रोक लगाइएको प्रहरी नायब उपरीक्षक पण्डितले बताए।
देवघाटस्थित जलमापन केन्द्रका अनुसार आज दिउँसो १ः५० बजे नारायणी नदीमा पानीको सतह ११ दशमलव ९१ मिटर पुगेको थियो। केन्द्रका अनुसार नदीमा पानीको बहाव अझै बढ्दो क्रममा छ। उक्त केन्द्रमा ७ दशमलव ३ मिटरलाई चेतावनी तह र ९ मिटरलाई खतराको तह मानिन्छ।
नारायणी नदीमा पानीको सतह बढेपछि गैँडाकोट, कावासोती, मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत नदी तटीय क्षेत्रमा रहेका बस्तीहरूमा समेत डुबान भएको प्रहरीले जनाएको छ।
नदीको बहाव घटेपछि पुलमा सवारीसाधनको आवागमन पूर्ण रूपमा सञ्चालन गरिने प्रहरीले जनाएको छ।