म्याग्दी – कालीगण्डकी नदीमा आएको बाढीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर २ भुरुङ–तातोपानीको नौलीबगर जोड्ने पुल बगाएको छ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार पुल बगाएपछि गाउँपालिकाका वडा नम्बर २, ३ र ४ सहित मुस्ताङसँगको यातायात सम्पर्क विच्छेद भएको छ।
यसैबीच, अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा एउटा र वडा नम्बर ३ को फगाममा एउटा घर पहिरोले पुरिएको छ। पहिरोमा पुरिएका घरमा रहेका दुई जनाको खोजी भइरहेको अध्यक्ष पुनले जानकारी दिए।
यस्तै, बेनी–जोमसोम सडकअन्तर्गत खामभित्तामा कालीगण्डकी नदीले सडक कटान गरेको छ। बाढी तथा पहिरोका कारण अन्नपूर्ण गाउँपालिका–४ घरापस्थित निलगिरि आधारभूत विद्यालयमा समेत क्षति पुगेको छ।
कालीगण्डकीमा आएको बाढी र विभिन्न स्थानमा गएको पहिरोका कारण सडक तथा यातायात पूर्वाधारमा क्षति पुगेपछि म्याग्दीको उत्तरी क्षेत्रको आवागमन प्रभावित भएको छ।