काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थान आसपास र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ। देशमा मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशभर अधिकांश भूभागमा बदली रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बागमती र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी र मधेश प्रदेशका थोरै स्थानमा पनि वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश भूभागमा बदली रहनेछ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने कोशी, मधेश र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा कोशी र बागमतीका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, सुदूरपश्चिमका तराई भूभागका धेरै स्थानमा, लुम्बिनीका तराई क्षेत्रका केही स्थानमा तथा बागमती र गण्डकीका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र मधेश प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुनसक्ने जनाइएको छ।
सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
आज राति सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ।
रातिको समयमा पनि कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
सुदूरपश्चिमका तराई भूभागका केही स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। मधेश तथा कोशी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत वर्षाको सम्भावना रहेको छ।