काठमाडौँ – देशभर पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली भएको छ भने लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ भने अन्य भूभागको मौसम सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ । कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, आज राति कोशी, मधेस र लुम्बिनी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार तराईका साथै काठमाडौँ उपत्यका र विभिन्न खोँचमा बिहानको समयमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।