काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार राति संयुक्त राज्य अमेरिकाको न्यूयोर्कबाट काठमाडौंका लागि प्रस्थान गरेका छन्।
संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलसहित जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा हुँदै नेपालका लागि प्रस्थान गरेका हुन्। प्रधानमन्त्रीसहितको टोली शनिबार नेपाल आइपुग्ने कार्यक्रम रहेको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको प्रतिनिधित्व गर्न न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुका साथै विभिन्न उच्चस्तरीय भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री शाहलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, वासिङ्टन डीसीस्थित नेपाली दूतावासका सीडीए एआई शरदराज आरण, न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारीलगायत नियोगका अधिकारीहरूले बिदाइ गरेका थिए।
परराष्ट्रमन्त्री शिशिर खनालसहित नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यहरू भने महासभाअन्तर्गतका विभिन्न बैठकमा सहभागी हुन न्यूयोर्कमै रहनेछन्।
न्यूयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस तथा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग भेटवार्ता गरेका थिए।
महासभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा बढ्दै गएको जोखिमको संकेतका रूपमा प्रस्तुत गरेका थिए।