काठमाडौं। रसुवाको भोटेकोशी नदीमा अकस्मात बाढी गएको एक महिना पूरा भएको छ। गत भदौ १० गते विहान गएको सो अकल्पनीय बाढीको महाविपदबाट रसुवा, नुवाकोट र धादिङसहितका जिल्लाका विभिन्न स्थानहरूमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पुर्याएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढीबाट हालसम्म एक हजार ४५३ जनाको अकालमा मृत्यु भएको छ भने पाँच हजार ५५० जना अझै बेपत्ता छन्। यसैगरी १३ हजार ७९५ जनाको उद्धार गरिएको छ र उद्धार गरिएका प्रभावितहरू हाल विभिन्न आश्रयस्थलमा बसोबास गरिरहेका छन्।
बाढी प्रभावितको खोज, उद्धार तथा राहतसहित अन्य सेवाका लागि तीनवटै सुरक्षा निकायका २० हजार ४७७ सुरक्षाकर्मी अहोरात्र तल्लीन रहेका छन्।
बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोडभन्दा बढीको क्षति तथा नोक्सानी भएको आकलन गरिएको छ। उक्त विपद्को द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदन अनुसार पुनर्निर्माण एवं पुनस्र्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्नेछ।
विनाशकारी बाढीबाट ७ हजार ५७० निजी घरहरू क्षतिग्रस्त भएका छन्। यसबाहेक ४८ सार्वजनिक भवन, १८ विद्यालय, ७ स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। सात सय ५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाटका पाँचवटा सोलार प्लान्ट प्रभावित भएका छन् भने ६९ किलोमिटर सडकखण्ड क्षतिग्रस्त भएका छन्।
त्यस्तै ३७ वटा मोटरेबल पुलमा क्षति पुगेकोमा ३३ वटा पुल बगेका छन् भने ६८ वटा झोलुंगे पुलमा क्षति पुगेको छ। करिब सात हजार ५७० घरहरू प्रभावित हुँदा आठ हजार ३०० घरपरिवारका करिब ४० हजार जनसङ्ख्या प्रभावित भएका छन्।
बाढीका कारण उत्पादन क्षेत्रअन्तर्गत एक हजार ८०६ हेक्टर कृषि बालीका साथै पशुपालन, पंक्षीपालन तथा माछापालन पनि प्रभावित भएको छ। त्यसैगरी १७ बैंक शाखा र चार हजार ८०० व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन्।
बाढी प्रभावितको खोज, उद्धार तथा राहत वितरण कार्य निरन्तर जारी छ भने क्षतिग्रस्त झोलुङ्गे पुल पुनर्निर्माण र सडक सञ्जालको पहुँचले जोड्ने लगायतका कार्यहरू द्रुत गतिमा अगाडि बढाइएको छ।
विनाशकारी बाढी गएलगत्तै रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी) का महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईंले आवश्यक समन्वय एवं पहल गरी आपत्कालीन सहयोग कोष (ड्रिफ) मार्फत् १२ लाख अमेरिकी डलर खर्च गर्न स्वीकृति सुनिश्चित गरेका थिए।
उनले बाढी प्रभावितको तत्काल खोज, उद्धार तथा राहतमा जुट्न नेपाल रेडक्रसका स्वयंसेवक र आइएफआरसीको टिमलाई आह्वान गरेका थिए। साथै नेपाल रेडक्रस सोसाइटीले आफ्नो आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई सक्रिय बनाइ सम्बन्धित जिल्ला शाखा तथा स्वयंसेवकहरूलाई बाढी प्रभावितको खोज र उद्धारमा परिचालन गरेको थियो। सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीको नेतृत्वमा एक टोलीले तत्काल प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी बाढी प्रतिकार्य सञ्चालनलाई अगाडि बढाएको थियो।
स्वयंसेवकहरूले खोज तथा उद्धारमा सहयोग गर्नुका साथै प्रभावित समुदायको तत्कालीन आवश्यकता पहिचान र समन्वयमा सहयोग पु¥याइरहेका छन्। आइएफआरसीको ड्रिफले विपद् प्रभावितलाई तत्काल उद्धार र राहत सुरुआत गर्न सम्भव बनाइरहेको छ।
यसबाट खानेपानी, टेन्ट, तारपोलिन, कम्बल, ओछ्याउने म्याट, प्राथमिक उपचार, स्ट्रेचर, शव व्यवस्थापनका लागि सामग्री (डेथ बडी-ब्याग), मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सहयोग, आपत्कालीन स्वास्थ्य सेवा र सरसफाइ किट जस्ता सामग्री तथा सेवा छिटो भन्दा छिटो प्रभावित स्थानमा पठाउन र वितरण गर्न सम्भव भएको छ।
ड्रिफ समयमा निकासा हुँदा तत्काल बाढी प्रतिकार्यमा ठूलो सहयोग पुगेको महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईंले बताए। उनले स्वयंसेवकसहित उद्धार टोली प्रभावित क्षेत्रमा समयमै पुग्न सफल भएको र प्रभावितहरूले राहत सामग्री उपयोग गर्न पाएको जानकारी दिए। यसले अकाल मृत्यु, रोग र थप मानवीय पीडाको संकट घटाउन सहयोग पुर्याएको उनले स्पष्ट पारे।
यसबाट विश्वासको वातावरण निर्माण गर्न मद्दत पुगेको र संकटको अवस्थामा राज्य र रेडक्रस उपस्थित छन् भन्ने अनुभूति समुदायमा दिलाएको उनले उल्लेख गरे। यसले सामाजिक तनाव र अविश्वास घटाउन ठूलो सहयोग पुर्याएको उनले बताए।
भोटेकोशी बाढीमा फ्ल्यास फ्लडको प्रकृति अनुसार स्रोत परिचालनको गति पनि अत्यन्तै छिटो भएको र ड्रिफ तथा आपत्कालीन अपिल अत्यन्तै छिटो सक्रिय रहेको उनले जानकारी दिए। भोटेकोशी बाढी प्रतिकार्य जलवायु संवेदनशील मानवीय प्रतिकार्यको एउटा महत्वपूर्ण मोडेल बन्न सक्ने उनले बताए।
बाढी प्रतिकार्य अन्तर्गत विभिन्न मानवीय सहायताका कामहरू निरन्तर जारी रहेको नेपाल रेडक्रसले जनाएको छ। नेपाल रेडक्रसका महामन्त्री ऋषिरमण खनालले भोटेकोशी बाढी गएको सुरुआती दिनदेखि नै प्रतिकार्य निरन्तर जारी रहेको जानकारी दिए।
उनले सुरुआती क्षणमा बाढी प्रभावितको खोज तथा उद्धारमा सहयोग गर्नुका साथसाथै हाल आवास तथा गैरखाद्य सामग्री, खाद्य सामग्रीको वितरण, खानेपानी, सरसफाइ तथा स्वच्छता, स्वास्थ्य तथा मनोसामाजिक सहयोग, मानसिक स्वास्थ्य तथा प्राथमिक मनोसामाजिक सहयोग, रेडक्रस आपत्कालीन स्वास्थ्य क्लिनिक, परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापना, बहुउद्देश्यीय नगद सहायता एवं नगद तथा भौचर सहायता लगायतका क्षेत्रमा मानवीय सहायता निरन्तर जारी रहेको बताए।
महामन्त्री ऋषिरमण खनालद्वारा जारी विज्ञप्ति अनुसार हालसम्म आवास तथा गैरखाद्य सामग्रीको वितरण अन्तर्गत एक हजार २१८ सेट, त्रिपाल ५६३ थान, म्याट्रेस ७०१ थान र कम्बल एक हजार ३२४ थान वितरण गरिएको छ भने करिब दुई हजार प्रभावित परिवारलाई खाद्य सामग्री सहयोग गरिएको छ।
एक महिनाका अवधिमा बाढी प्रभावित दुई हजार २०० घरधुरीमा खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा पु¥याइएको, १८ वटा पानी ट्यांकी व्यवस्थापन गरिएको र आवश्यक स्थानहरूमा ट्यांकरबाट पानी वितरण गरिएको उनले जानकारी दिए।
विज्ञप्तिमा उल्लेख भए अनुसार मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग एवं प्राथमिक मनोसामाजिक सहयोगबाट एक हजार ७१० बाढी प्रभावित लाभान्वित भएका छन्। रेडक्रस आपत्कालीन स्वास्थ्य क्लिनिक सेवाबाट एक हजार २३९ जनालाई आवश्यक स्वास्थ्य परीक्षण, औषधि तथा अन्य आवश्यक सेवा उपलब्ध गराइएको छ।
त्यसैगरी परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापनाबाट दुई हजार २९१ खोजतलाससम्बन्धी केसमा सेवा तथा सहजीकरण गरिएको छ भने नेपाल सरकारका विभिन्न सुरक्षा निकायहरूलाई दुई हजार शव व्यवस्थापन झोला उपलब्ध गराइएको छ।
बहुउद्देश्यीय नगद सहायता तथा नगद र भौचर सहायता सेवा अन्तर्गत बाढीबाट प्रभावित समुदायको तत्काल आवश्यकता परिपूर्तिको लागि धादिङका १९८ र नुवाकोटका २६२ घरधुरीलाई नगद सहयोग उपलब्ध गराइएको महामन्त्री खनालले बताए।
समुदायका गुनासा, सुझाव तथा आवश्यकता संकलन सेवा अन्तर्गत विभिन्न माध्यमबाट प्राप्त करिब ३५० गुनासा, जिज्ञासा, अनुरोध तथा सुझावहरू संकलन गरी आवश्यक जानकारी, सहजीकरण तथा रेफरल सेवा प्रदान गरिएको उनले जानकारी दिए।
संरक्षण, लैङ्गिक तथा समावेशीकरण अन्तर्गत मर्यादा किट ५८७ र स्वच्छता किट एक हजार ०८७ वितरण गरिएको छ भने बालमैत्री सुरक्षित स्थान मार्फत एक हजार १८९ बालबालिकालाई सेवा उपलब्ध गराइएको छ।
सूचना तथा सहायता कक्ष सेवा अन्तर्गत प्रभावित समुदायलाई सूचना, आवश्यक सहयोग तथा सहजीकरण उपलब्ध गराउन विभिन्न १७ स्थानमा सहायता तथा सूचना कक्ष सञ्चालन गरी सेवा उपलब्ध गराइएको विज्ञप्तिमा उल्लेख छ।
सूचना, शिक्षा तथा सञ्चार सामग्री सेवा अन्तर्गत बाढी प्रभावित समुदायका लागि बाढी तथा पहिरोबाट सुरक्षित रहने उपाय, भारी वर्षासम्बन्धी पूर्वसूचना तथा सुरक्षा सन्देश, खानेपानी तथा सरसफाइ, पानी शुद्धीकरण, स्वास्थ्य तथा सरसफाइ, परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापना, राहत तथा सेवामा पहुँच, बहुउद्देश्यीय नगद सहायता तथा समुदायको गुनासा र सुझाव दर्ता गर्ने प्रक्रियासम्बन्धी सूचना सामग्री विकास गरी रेडक्रसको सामाजिक सञ्जाल र रेडियो मार्फत प्रचारप्रसार गरिएको उनले बताए।
विशेषगरी विस्थापित तथा जोखिममा रहेका परिवारको अवस्था, मौसमजन्य जोखिम र स्थानीय आवश्यकताका आधारमा राहत तथा मानवीय सहायतालाई निरन्तरता दिने, आवश्यक सामग्रीको समयमै व्यवस्थापन गर्ने तथा प्रभावित समुदायको आवश्यकता र प्राथमिकता अनुसार प्रतिकार्यलाई थप सुदृढ गर्ने विषय नेपाल रेडक्रसको प्राथमिकतामा रहेको विज्ञप्तिमा जनाइएको छ।
साथै प्रभावित परिवारको पुनःस्थापना तथा पुनर्लाभका लागि नेपाल सरकारका प्राथमिकतामा रहेका क्षेत्रहरूमा सहयोग पुग्ने गरी आवास, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी तथा सरसफाइ लगायतका क्षेत्रमा आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले बताए।
यस विपद्का समयमा प्रभावित समुदायको जीवनरक्षा, राहत तथा मानवीय सहायता र आवश्यक सेवाहरू निरन्तर सञ्चालन गर्न सहयोग पुर्याउनुहुने रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ, रेडक्रसको अन्तर्राष्ट्रिय समिति, साझेदार राष्ट्रिय सोसाइटी, नेपाल सरकार तथा सम्बन्धित सरकारी निकाय, स्थानीय तह, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र, सञ्चारमाध्यम, स्वयंसेवक तथा सहयोगी व्यक्ति र सम्पूर्ण सरोकारवालाहरूप्रति नेपाल रेडक्रसले धन्यवाद तथा आभार व्यक्त गरेको छ।