हेटौँडा । मुलुकको एकमात्र ‘ब्याकअप’ ऊर्जा स्रोतका रूपमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह तीव्र रूपमा बढिरहेको छ। पछिल्लो १२ घण्टामा मात्रै जलाशयको पानीको सतह १.२ मिटरले बढेको आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार जलाधार क्षेत्रमा बिहीबारदेखि निरन्तर वर्षा भइरहेको छ। शुक्रबार बिहानदेखि वर्षा थप बाक्लिएपछि जलाशयमा पानीको सतह प्रतिघण्टा करिब १० सेन्टिमिटरका दरले बढिरहेको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख प्रह्लाद राउतले जानकारी दिए।
उनका अनुसार शुक्रबार बिहान ६ बजे जलाशयमा पानीको सतह १ हजार ५२२.३१ मिटर मापन गरिएको थियो। साँझ ७ बजेसम्म उक्त सतह बढेर १ हजार ५२३.५१ मिटर पुगेको छ।
कुलेखानी जलाशयको अधिकतम क्षमता १ हजार ५३० मिटर रहेको छ। हाल पूर्ण क्षमतामा पुग्न करिब ६ मिटर बाँकी रहेको भए पनि तत्काल आत्तिनुपर्ने अवस्था नरहेको प्रमुख राउतले बताए।
जलाशयमा पानीको सतह निरन्तर बढेपछि पानीको मात्रा घटाउने उद्देश्यले कुलेखानीका तीनवटै जलविद्युत् आयोजना २४ घण्टा सञ्चालनमा ल्याइएको छ। तीनवटै आयोजना पूर्ण क्षमतामा सञ्चालन गर्दा दैनिक करिब ४० देखि ५० सेन्टिमिटर पानी खपत हुने आयोजनाले जनाएको छ।
हाल कुलेखानी प्रथमबाट ६० मेगावाट, कुलेखानी दोस्रोबाट ३२ मेगावाट र कुलेखानी तेस्रोबाट १४ मेगावाट गरी कुल १०८ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।
१६६ वर्ग किलोमिटर क्षेत्रफलको जलाधार रहेको कुलेखानीमा पानीको सतह उच्च हुँदै गएर जलाशय भरिने अवस्था आएमा बाँधका ढोका खोल्नुपर्ने हुन सक्छ। त्यसलाई ध्यानमा राख्दै तल्लो तटीय क्षेत्रमा सुरक्षाका लागि साइरनको व्यवस्था गरिएको छ।
आयोजनाका अनुसार जलाशयको पानीको सतह १ हजार ५२७ मिटर पुगेपछि पहिलो साइरन बजाइनेछ। पानीको सतह १ हजार ५३० मिटरभन्दा माथि पुगेमा बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्छ। बाँधका ढोका खोल्नुअघि तीन चरणमा साइरन बजाएर तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउने व्यवस्था गरिएको आयोजनाले जनाएको छ।