काठमाडौं– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिकाको धारापानी क्षेत्रमा पनि सडक भासिएको छ। कृष्णभीरमा सडक भासिएर आवागमन बन्द भएको अवस्थामा धारापानीमा समेत सडक भासिन थालेको हो।
अविरल वर्षाका कारण धारापानीमा सडक भासिने क्रम अझै जारी रहेको फोटो लाइब्रेरीका फोटो पत्रकार हिरालाल गुरुङले जानकारी दिएका छन्।
सडकको विभिन्न स्थानमा क्षति पुगेपछि नेपाल प्रहरीले सूचना जारी गर्दै पृथ्वी राजमार्गमा आवागमन अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ।
लगातारको वर्षाका कारण सडकमा थप क्षति पुग्न सक्ने जोखिम रहेकाले तत्काल यातायात सञ्चालन गर्न नसकिएको प्रहरीले जनाएको छ।