चितवन । चितवनमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा ४३ वटा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार साउन र भदौमा भएका दुर्घटनामा ८७ जना घाइते भएका छन् । साउनमा २३ वटा दुर्घटना हुँदा पाँच जनाको मृत्यु र ६० जना घाइते भएका थिए । यस्तै, भदौमा २० वटा दुर्घटना हुँदा १० जनाको मृत्यु र २७ जना घाइते भएका छन् ।
कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक विष्णु थापाका अनुसार सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ५५२ वटा सवारीसाधनलाई कारबाही गरिएको छ । कारबाहीबाट ३१ लाख ४८ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए ।
गत आर्थिक वर्ष २०८२/८३ मा चितवनमा ५४५ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा १०५ जनाको मृत्यु भएको थियो भने ९०२ जना घाइते भएका थिए ।
रासस