काठमाडौं। भारीदेखि अति भारी वर्षाको पूर्वानुमानसँगै नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहणलगायत पर्यटकीय गतिविधिमा उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
बोर्डले असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले जोखिम देखिएमा पर्यटकीय गतिविधि स्थगित गर्न आग्रह गरेको हो। कोशी, मधेस, वाग्मती र सुदूरपश्चिमका विभिन्न स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माले पर्यटकीय सिजनमा पदयात्रा, हिमाल आरोहण, मेला तथा महोत्सव भइरहेकाले भारी वर्षा, हावाहुरी र चट्याङको जोखिमलाई ध्यानमा राखेर गतिविधि सञ्चालन गर्न आग्रह गरे।
प्रतिकूल मौसमका कारण बाढी, पहिरो र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम रहेकाले बोर्डले पर्यटक तथा पर्यटन व्यवसायीलाई आधिकारिक मौसम सूचना नियमित पछ्याउन आग्रह गरेको छ। साथै, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी यात्रा तथा आरोहणको तालिका तय गर्न पदयात्री र पर्वतारोहीलाई अनुरोध गरेको छ।