काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादी शक्तिसँग पञ्जा लडाउन एमाले तयार रहेको बताएका छन्। उनले प्रतिक्रियावादीहरूले खुट्टा बजारे भन्दै नडराउन नेता–कार्यकर्तालाई आग्रह गर्दै मनोबल दह्रो बनाउन निर्देशन दिए।
संविधान दिवसका अवसरमा शनिबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले प्रतिगमनको जित क्षणिक हुने र अन्ततः सत्यको विजय हुने बताए।
‘प्रतिक्रियावादीहरूले खुट्टा ढ्यापढ्याप गरे भन्दैमा भाग्ने होइन । हामी प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउने तयार छौँ, र फेरि पनि पञ्जा लडाउँदा हामीले विजय हासिल गर्नेछौँ,’ उनले भने।
आफूमाथि झुटा आरोप र भ्रम फैलाएर बदनाम गर्ने प्रयास भइरहेको भन्दै ओलीले सत्यको बाटोबाट आफूहरू विचलित नहुने बताए। एमालेमा भएका गल्ती स्वीकार गरेर सच्याउने क्षमता रहेको उनको भनाइ थियो।
आगामी केन्द्रीय कमिटी बैठकले पार्टीलाई अझ एकताबद्ध र मजबुत बनाएर अघि बढाउने उनले बताए।