भक्तपुर । नेपाली कांग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले नेपाल संवत् नेवार समुदायको मात्र नभई सम्पूर्ण नेपालीको साझा मौलिक संवत् भएको बताएका छन् ।
मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत् ११४७ को नयाँ वर्षका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल संवत् नेपालको मौलिक पहिचान र राष्ट्रिय स्वाभिमानसँग जोडिएको बताए ।
नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाःले ऋणमा डुबेका सर्वसाधारणलाई ऋणमुक्त गराएर मानवता, परोपकार र सामाजिक न्यायको उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै श्रेष्ठले उनको योगदानलाई आर्थिक तथा सामाजिक क्रान्तिका रूपमा लिनुपर्ने बताए । नेपाल संवत् सुरु भएको दिनलाई जनताको ऋणमुक्तिको दिन अर्थात् मुक्ति दिवसका रूपमा लिन सकिने उनको भनाइ थियो ।
कुनै राजा वा शासकले नभई एक सामान्य नेपाली नागरिक तथा व्यापारीले जनताको हितका लागि आफ्नै नाममा नभई देशकै नाममा संवत् प्रचलनमा ल्याउनु राष्ट्रिय गौरवको विषय भएको उनले बताए ।
पञ्चायतकालमा नेपाल संवत् र शङ्खधर साख्वाःलाई लोकतान्त्रिक आन्दोलनको प्रतीकका रूपमा अघि सारिएकाले यो नेवार समुदायको मात्र संवत् हो भन्ने भ्रम सिर्जना भएको श्रेष्ठले उल्लेख गरे । नेपाल सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा घोषणा गर्नु र सरकारी कार्यालयका लेटरप्याडमा यसको प्रयोग सुरु गर्नु सकारात्मक भए पनि यसको महत्त्वबारे आम नागरिकमा पर्याप्त जानकारी नरहेको उनले बताए ।
नेपाल संवत्को संरक्षण र प्रवर्द्धनका लागि शङ्खधर साख्वाःका नाममा विश्वविद्यालय स्थापना गर्न, मुद्रा तथा पाठ्यपुस्तकमा नेपाल संवत्को मिति र तिथि समावेश गर्न तथा विद्यालय तहदेखि नै यसको इतिहास र महत्त्वबारे अध्ययन गराउनुपर्ने प्रस्ताव पनि उनले राखे ।
नेपाली भूमिमा उत्पत्ति भएको र नेपाली नागरिकले प्रवर्द्धन गरेको मौलिक संवत्को संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका लागि राज्य तथा नागरिक दुवैको सक्रिय भूमिका आवश्यक रहेको श्रेष्ठले बताए ।