काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू देश छाडेर भाग्ने मानिस नभएको बताएका छन् । आफूहरू आफ्नै संघर्ष र योगदानबाट स्थापित भएको भन्दै उनले देश छाडेर भाग्ने कुनै कारण नरहेको बताए ।
गत वर्ष भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा आगजनी भएको बालकोटस्थित आफ्नो निवासको बुधबार अवलोकन गर्ने क्रममा ओलीले आफूहरू न पहिला भागेको, न अहिले भाग्ने र न भविष्यमा नै भाग्ने बताएका हुन् ।
‘हामी न पहिला भागेका थियौँ, न अहिले भाग्छौँ, न कहिल्यै भाग्छौँ । यो देश हाम्रो पनि हो,’ उनले भने ।
आफूहरू नेपाली मूलका नागरिक भएको उल्लेख गर्दै उनले अरूले उभ्याएको नभई आफ्नै संघर्ष र योगदानबाट स्थापित भएको दाबी गरे । ‘हामी अरूले उभ्याएको होइन,’ उनले भने ।
जेन–जी आन्दोलनका क्रममा भएको आगजनीबाट निवासमा पुगेको क्षतिको अवलोकन गर्न ओली बुधबार बालकोट पुगेका थिए ।