काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेता गगन थापाबीच आइतबार दिउँसो भेटवार्ता भएको छ । दिउँसो १२ः३० बजे भएको भेटमा कांग्रेसभित्र देखिएको आन्तरिक समस्या समाधान तथा पार्टीको आगामी कार्यदिशाबारे विस्तृत छलफल भएको हो ।
भेटमा डा. कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता चुनौतीपूर्ण अवस्थामा रहेकाले कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । पार्टी एकताका लागि आफू आवश्यक त्याग गर्न तयार रहेको उनले स्पष्ट पारेका थिए । जवाफमा नेता थापाले पनि आफू पार्टी एकताको पक्षमा दृढ रहेको बताएका थिए ।
भेटका क्रममा गत भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा पर्ने रसुवामा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट र धादिङको पछिल्लो अवस्थाबारे समेत गम्भीर छलफल भएको थियो । नेताद्वयले बाढीबाट प्रभावित जनजीवन, राहत तथा उद्धारका विषयमा चासो व्यक्त गरेका थिए ।
डा. शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार भेटमा कांग्रेसको आगामी कार्यदिशा, पार्टीभित्रको समन्वय तथा विपद् व्यवस्थापनका विषयमा समेत छलफल भएको थियो ।