काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्को घडीमा कृत्रिम तस्बिर तथा दृश्य बनाएर सस्तो लोकप्रियता कमाउने प्रयास नगर्न आग्रह गरेका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै ओलीले अहिलेको प्राथमिकता उद्धार, राहत तथा पुरिएका संरचनाबाट धनमाल निकाल्ने कार्य हुनुपर्ने बताए।
बाढीपहिरोबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै ओलीले विपद्का वेला प्रविधिको दुरुपयोग गरी प्रचारमा लाग्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाए।
‘यस दुःखद् घडीमा हजारौँको संख्यामा जीवनको क्षति र करोडौँको अनुपातमा धनमाल तथा संरचनाको विनाश भएको छ । यस्तो समयमा हामीले पीडितलाई अधिकतम सेवा पुर्याउनेतर्फ लाग्नुपर्छ । कोही एआईको सहायताले कृत्रिम दृश्यहरू चित्रण गरी आफूलाई जनताको सेवक देखाउन खोजिरहेका छन् । मैले पहिले पनि भनेको थिएँ, हामी यतिबेला लोकप्रिय हुने होइन, पीडितको सेवामा लाग्ने हो। कृत्रिम फोटोहरू खडा गरेर प्रचार गर्ने समय यो होइन ।’
ओलीले विपद्का वेला सम्पूर्ण ध्यान र सामर्थ्य राहत तथा पुनःस्थापनामा केन्द्रित गर्नुपर्ने बताए। उनले प्रचारमुखी नभई सेवामुखी भएर पीडितको उद्धार र राहतमा जुट्न सबैलाई आग्रह गरे।