काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडितलाई प्रत्यक्ष राहत पुर्याउनुलाई पार्टीले प्राथमिकतामा राखेको बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै ओलीले आफ्नै स्रोतसाधन र कार्यकर्ता परिचालन गरेर राहत संकलन तथा वितरण गरिरहेको बताए।
एमालेले प्रारम्भिक रूपमा करिब १ करोड २० लाख रुपैयाँबराबरको नगद तथा जिन्सी सामग्री वितरण गर्ने लक्ष्य राखेको थियो। राहतको कुल परिमाण भने लक्ष्यभन्दा बढी हुने ओलीले बताए।
सरकारी कोषमा रकम जम्मा नगर्ने भन्ने नभएको स्पष्ट पार्दै ओलीले अहिलेको प्राथमिकता सिधै पीडितसम्म राहत पुर्याउनु रहेको बताए।
‘हामीले सरकारी कोषमा रकम जम्मा नै गर्दैनौं भनेका होइनौं । तर सरकारी कोषमा जम्मा भएको रकम समयमै पीडितसम्म पुग्न ढिलाइ हुने अवस्थालाई मध्यनजर गर्दै हामीले सिधै पीडितको हातमा राहत पु¥याउने कार्यलाई प्राथमिकता दिएका छौं ।’
उद्धार तथा राहतका काम सम्पन्न भएपछि अवस्थाअनुसार सरकारी कोषमा समेत सहयोग गर्न सकिने ओलीले बताए। उनले विपद्को यस घडीमा उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राखेर पीडितको आवश्यकता सम्बोधन गर्न पार्टी सक्रिय रहेको बताए।