काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वले पुस्तौँदेखि समाजलाई भावनात्मक रूपमा जोड्दै राष्ट्रिय एकता तथा सामाजिक सद्भावलाई मजबुत बनाउँदै आएको बताएका छन् ।
श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले नेपाल विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति, परम्परा र जीवनशैलीको अनुपम संगम भएको मुलुक रहेको बताएका हुन् ।
उनले नेपालका हरेक जातजातिका आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्व रहेको उल्लेख गर्दै यही सांस्कृतिक विविधताले नेपाली समाजलाई अझ समृद्ध र पहिचानयुक्त बनाएको बताएका छन् ।
थापाले भगवान् श्रीकृष्णको जन्मको स्मरणमा मनाइने श्रीकृष्ण जन्माष्टमी सत्य, न्याय, कर्तव्य, प्रेम, करुणा र मानव कल्याणका आदर्शलाई आत्मसात् गर्न प्रेरणा दिने पर्व भएको उल्लेख गरेका छन् ।
त्यसैगरी, सुदूरपश्चिमको मौलिक संस्कृति, आस्था र परम्परासँग गहिरो रूपमा जोडिएको गौरा पर्व नेपाली सांस्कृतिक गौरव, सामाजिक एकता र पारिवारिक आत्मीयताको जीवन्त प्रतीक भएको उनको भनाइ छ ।
दुवै पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, एकता र भाइचाराको भावना अझ प्रगाढ बनाउन योगदान पुर्याउने विश्वास थापाले व्यक्त गरेका छन् ।
सभापति थापाले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् ।